कपिलवस्तु १८ फागुन । सोमबारदेखि सुरु भएको बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्यलाई तीब्रता दिईएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामै पहिलो पटक बाणगंगाबाट सोमबारबाट राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गरेको थियो । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार बाणगंगा नगरपालिकाका वडा नं.१,२,३,४,५,६,७ र ८ मा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु भईसकेको छ ।
अन्य ३ ओटा वडामा पनि केही दिन भित्रै नाम दर्ताको कार्य प्रारम्भ गर्ने तयारी भईरहेको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । प्रत्येक वडामा २ जना प्राविधिक राख्ने गरि राष्ट्रिय पञ्जिकरण विभागले कर्मचारी पठाएको तर कोरोना संक्रमणको त्रास तथा अन्य प्राविधिक कारणले कर्मचारी आउन ढिलो भएको उहाँले बताउनुभयो । ‘प्रत्येक वडामा २ जना प्राविधिक राखेर काम सुरु गरिन्छ, सोही अनुसार राष्ट्रिय पञ्जिकरण विभागले कर्मचारी पठाएको छ । काम तीब्र गतिमा अघि बढ्छ ’ उहाँले भन्नुभयो ।
दैनिक ८० देखि १०० जनाको नाम दर्ता कार्य गरिने उहाँले दाबी गर्नुभएको छ । वडा नं.१ मा आजसम्म एक सय जनाको नाम दर्ता गर्ने कार्य सम्पन्न गरेको वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले जानकारी दिनुभएको छ ।
यस्तै वडा नं. ७ मा २ सय ४२ जनाको नाम दर्ता कार्य सम्पन्न भएको वडा नंम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया