काठमाडौँ, १९ फागुन । नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ बीच भेटवार्ता भएको छ । बिहिवार(आज) बिहान नेता रावललाई भेट्न महासचिव विप्लव टोखास्थित उनको निवास पुगेका थिए ।
भेटमा विप्लवले संसदबाट पारित भएको एमसीसीविरुद्ध आन्दोलनका साथै राजनीति सहकार्य गर्न प्रस्ताव गरेको जनाइएको छ । विप्लवले केही दिन यता एमसीसीविरुद्धमा रहेका विभिन्न दलका नेतासँगको भेटघाटलाई तिव्रता दिएका छन् ।
नेकपा एमालेका नेता रावल एमसीसी पारित गर्न नहुने पक्षमा थिए । एमालेले नाराबाजी गरेको प्रतिनिधि सभा बैठकमा आइतबार उनले एमसीसी विरुद्ध अभिव्यक्ति दिएका थिए । एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन् । ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’ रावलले भनेका छन् ।
विप्लवले यसअघि बुधबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए ।
माओवादी नेता श्रेष्ठ पार्टीले एमसीसीको पक्ष लिएको भन्दै बिरोधमा छन् भने एकीकृत समाजवादीका नेता खनालले एमसीसी पारित गर्नका लागि गत आइतबार बसेको दोस्र बैठक बहिष्कार गरेका थिए ।
प्रतिक्रिया