काठमाण्डौ, २१ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङले वर्तमान सरकारले नेपालको चुच्चे नक्सा गायब गरेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा वर्तमान सरकारले गायब गरेको बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै नेम्वाङले आक्रोश पोख्नुभयो ।
यो देशको राष्ट्रियताको सन्दर्भमा लडाइ लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्सा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? उहाँले भन्नुभयो, हामीले त्यतिबेला सरकारको सय दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्सा छापेका थियौं । तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस्त ? त्यहाँ नेपालको लागो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा गायब छ ।
संविधानसभाका अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै पालिकाको चुनाव पछि धकेल्ने खेलमा लागि परेको आरोप समेत लगाउनु भएको छ । उहाँले विगतमा पनि चुनावमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको पालिकाको चुनाव पनि पछि सार्ने खेल खेलिरहेको बताउनु भएको हो ।
आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको पालिकाको चुनाव पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु चुनाव भनेपछि किन डराउछन ? भनि प्रश्न गर्नु भयो ।
‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् , उहाँले भन्नुभयो, बल्लबल्ल तपाईँ–हामीले लडेर पालिकाको चुनावको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’
प्रतिक्रिया