प्रदेश

सुर्खेतमा युवक मृत्यु पछि, असईविरुद्ध उजुरी



सुर्खेत, २२ फागुन । सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले असईविरुद्ध किटानी जाहेरी परेको बताए ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका हमालको शनिबार विहान मृत्यु भएको थियो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले वीरेन्द्रनगरमा प्रर्दशन गर्दै आएका छन् ।

आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् । शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट मृत्यु भएको थियो । उनी भे १ क ९२२ नम्बरको ट्रकमा आएका थिए । उक्त ट्रकसहित चालक र सहचालकलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो ।

सहचालक र हमाललाई प्रहरीले मादकपदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तको आरोप छ । प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको भन्दै आफन्तले शनिबार वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए ।

हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । घटनाको छानबिन गर्न शनिबारनै सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिमा डीएसपी रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा सदस्य छन् । समितिमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा। चन्द्रेश सिंहलाई सदस्य थप गरिएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६