बुटवल, २३ फागुन । अन्तर्राष्ट्रिय मापदण्ड विपरित भारतले नेपाली भूमि डुबान हुने गरी दशगजा नजिकै अग्लो सडक निर्माण गरेको छ ।
पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले सीमा क्षेत्रमा अग्लो सडक निर्माण गरेको बताईएको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले आफना समकक्षी भारतको महाराजगंज जिल्लाका प्रमुख जिल्ला अधिकारी डिएम सत्यन्द्र कुमारलाई समक्ष पानीको प्राकृतिक बहाव रोकिने गरि नेपालको सीमा नजिकै भारतले बनाउन लागेको सडकको संरचना प्रति आपत्ति जनाउँदै विरोध गर्नु भएको पश्चिम नवपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
अन्तर्राष्ट्रिय मान्यता विपरित नेपाली भूमि एवं बस्तीहरु डुबान हुने गरी भारतले सिमाना जनिकै बनाई रहेको सडक र यसले पार्ने असरको विषय मुख्य रुपमा दुई देशबीच कुटनीतिक स्तरबाट पहल हुनु पर्ने विषय भएको स्थानीयको भनाइ छ । अन्तर्राष्ट्रिय मान्यता विपरित भारतले दशगजा नजिकै बनाउँदै गरेको सडकको विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लिखित जानकारी गराएको भए पनि अहिलेसम्म कुनै ठोस प्रभाव परेको छैन ।
वर्षा यामको समयमा पहिला देखि नै डुबानमा पर्दै आएको नवलपरासीका पाल्हीनन्दन, सरावल, प्रतापपुर एवं सुस्ता गाउँपालिकाका सिमावर्ती क्षेत्रमा भारतले दशगजा नजिकै पूर्वपश्चिम सडकका कारण आगामी वर्षा याममा ढुबानमा पर्ने भन्दै सिमावर्ती क्षेत्रका बासीन्दाहरु चिन्तित भएको पाल्हीनन्दन गाउँपालिका महेशपुरका स्थानियवासी धु्रवनारायण बनियाँले बताए ।
नेपालको चुरे पहाडहरुबाट दक्षिण भारततर्फ बग्ने नदिनालाको बहाव रोकिने गरि भारतले दशगजा देखि करिब १० मिटरको दुरीमा पश्चिमदेखि पूर्वतर्फ चार लेनको सडक निर्माण गरिरहेको छ । भारतले यसरी बनाई रहेको सडक पश्चिम भारतको सिद्धार्थनगर कपिल्बस्तु पारी, महारजगंज हुदै अहिले नवलपरासीको दक्षिणी सीमा पारी सम्म पुर्याएको छ ।
यो सडक निर्माणले नेपाललाई ठूलो क्षति हुने भन्दै नेकपा एमाले नवलपरासीले गत विहीवार नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । एमालेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए पछि नवपरासीका प्रमुख जिल्ला अधिकारी मिश्रा सहित अन्य पार्टीका नेताहरु, संचारकर्मी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, मानवअधिकार कर्मी लगायतले त्यस क्षेत्रमा अवलोकन र सडक निर्माणको विरोध गरे पनि भारतीय पक्षले भने अटेरी गरी बांध जस्तो सडक निर्माण कार्य जारी राखेको छ ।
नेपालका दर्जनौैँ गाउँहरु डुबानमा पर्ने गरि बनाईएको यो सडकको ऊचाई एउटा बाँधको जस्तै करिब ६ फिटको रहेको छ । उत्तरबाट वग्ने खोला, नालाका लगायतको पानी सहज रुपमा बग्ने गरी आवश्यक स्थानहरुमा कल्वर्ट, साईफन नराखी बनाईएको यो सडकका कारण नवलपरासीको पाल्हीनन्दन, सरावल एवं सुस्ता गरि तीन गाउँपालिकाका करिब दुई दर्जन गाउँ बस्ती एवं हजारौँ विगाहा खेत डुबानमा पर्ने बताईएको छ ।(गोरखापत्र)
प्रतिक्रिया