विचार/ब्लग

सुख के हो र यो कसरी मिल्छ ?




टेकराज पन्थी ।
संसारमा मानिसहरू ठुलो वा सानो कोही हुदैनन्, तिनीहरूलाई ठूलो वा सानो बनाईन्छ । जसले सपना ठूलो देख्छन तिनीहरू ठूला हुन्छन् । जो सपना देख्नबाट डराउछन तिनीहरू साना नै हुन्छन । असम्भव भन्ने कुनै छैन, जबसम्म जुनकाम गर्न शुरू गरिदैन त्यो असंभव हुन्छ । खुसी केहो भनेर सोधनी गर्दा धनपैसा, घर, गाडी, छोराछोरी, इच्छा चाहना पुरा हुनु भन्छन्, तर त्यो खुसी होईन खुसी त्यो हो मेरा कारणले कसैको जीवन पाईरहेको हुन्छ त्यो देख्न पाउनु नै खुसी हो । यसै गरी सुखको खोजीमा मानिस जन्मदेखि नै भौतारीरहेको हुन्छ । सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र के गर्ने सुख भन्ने चिज न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । यद्धपि मानिस सुख प्राप्तिका लागि जुझारू भएर लागिरहेका हुन्छन् । त्यसको बिपरित सुख भने टाढा टाढा भागिरहेको हुन्छ । सुखलाई यकिन अर्थमा मापन गर्ने कुनै साधन छैन । कुनै व्यक्ति एउटा परिस्थिमा सुखी हुन्छ भने अर्को व्यक्तिलाई सुखी हुन उक्त परिस्थिति काफी हुन्न । त्यसैले सुखी हुनका लागि प्रत्येक व्यक्तिलाई अलग परिस्थिति र भिन्न तत्वको आवश्यक हुन्छ । सुख को एकिन परिभाषा नभए पनि विभिन्न मनोबैज्ञानिक तथा बिस्लेशकहरूले सुखलाई आ आफ्नै अर्थमा परिभाषित गरेका छन् । सुखलाई अन्तरिक आत्माको शान्ति पनि भनिन्छ भने आफुले चाहेको चिज प्राप्ति हुनुलाई अर्थात् आत्मसन्तुस्ट हुनलाई सुखको परिभाषामा राखेका छन् ।

सुखको अर्थ र परिभाषा अत्यन्त बृहत छ । कसैले सुखलाई धन सम्पति संघ तुलना गर्छन् भने कसैले मनभित्रको शान्तिलाई सुख सम्झन्छन् । त्यसैले धन सम्पति नहुने मान्छे कसरी धेरै पैसा कमाएर सुखी हुने भन्ने प्रयत्न गर्छन् तर अथाह धन र सम्पतिले मात्र मानिस कहाँ सुखी हुन्छ र ? सम्पन्न मानिसहरू सुखी हुन्छन् भन्ने भनाइ सत्य होइन । त्यस्ता मानिस आफन्तको अभाव, पारिवारिक चिन्ता, राजनीतिक संकट आदिजस्ता समस्याले दुख्खी हुन सक्छन । त्यसैले सुख भन्ने चिज न त धन सम्पतिको वशमा छ, न त पारिवारिक ममतामा सिमित हुन्छ । यो संधै एक पछि अर्को आवश्यकता बढे जस्तै अजङ्ग भएर बढी रहन्छ, तर यसो भन्दैमा संसारमा सुखी मान्छे नै छैनन् भन्न खोजेको चाही अवश्य होइन । यो बिश्वमा यति धेरै सुखी मान्छेहरू पनि छन् जो आफुमात्र बाच्न होइन, आफु मात्र सुखी हुनको लागि होइन, विश्वका हरेक मानिसलाई सुखी बनाउन चाहन्छन र सम्पूर्णलाई जगतलाई बचाउन चाहान्छन् । विभिन्न संस्थाले गरेको अध्ययनको प्रतिबेदन अनुसार सुखी मानिसहरू नै विश्वका सफल मानिसहरू हुन् ।

भगवान गौतमबुद्ध संधै सुखी थिए तर उनले आफ्नो मात्र सुख चाहेनन्, बिश्व मानव जगतको सुखको खोजीमा उनि भौतारिए । फ्लोरेसें नाइटिंगेलले अरूको सुखको लागि आफ्नो सुखलाई भुलिन् र अरूको सेवामा रूझिन । त्यसैले सुखी हुनको लागि कसैलाइ भौतिक बस्तुको आवश्यकता पर्छ भने कसैलाई आन्तरिक मोक्षको जरूरत पर्छ । एउटा बालक खेलौना पायो भने रम्न थाल्छ र सुखी हुन्छ तर त्यो बालक जब जवान हुन्छ उनलाई त्यो चिज सुखी हुनको लागि काफी हुन्न । त्यसैले सुखी हुने चिज समय, परिस्थित र व्यक्तिको अन्तर्निहित इच्छा मोहसंग गांसिएको हुन्छ ।
हरेक वर्ष विश्वमा बिभिन्न निकायले कुन देशमा कति मानिस सुखी छन् भनेर अनुसन्धान गर्ने गरेका छन् । झट्ट हेर्दा विकसित मुलुक अविकसित तथा बिकासोन्मुख राष्ट्र भन्दा सुखी हुनु पर्ने हो तर अध्ययनले एकिन रूपमा त्यस्तो देखाएको छैन । सन् २०१३ मा संयुक्त राष्ट्र संघको स्थायी विकास संजालले जारी गरेको प्रतिबेदन अनुसार १५६ राष्ट्रमा गरिएको अध्ययनले बिश्वको धनि मुलुक अमेरिका १७ औ स्थानमा मात्र सुखी राष्ट्रकोरूपमा परेकोछ । मानव स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, उदारता , मृत्युदर आदिजस्ता तत्वलाई आधार बनाएर गरिएको उक्त सर्वेक्षणले डेनमार्कलाई बिश्वको प्रथम सुखी राष्ट्रको रूपमा पाएको छ भने त्यसपछिका देशहरूमा नर्वे, नेदरलेंड्स, स्विजरर्लैंड, स्विडेन, क्यानाडा, फिनल्याण्ड, अस्ट्रेलिया, आइसल्याण्ड आदि रहेका छन् ।
सुखी हुनको लागि विभिन्न समय र परिस्थितिले असर पारेको हुन्छ । सुखी हुनु खोज्नु मानिसको नैसर्गिक अधिकार हो । जीवन लामो लागे पनि हामी सबै यस लोकमा थोरै समयको लागि आएका छौं। त्यसैले बाचुन्जेल सुखी जीवन खोज्नु अन्यथा होइन । तर सुखी कसरी हुँने भन्ने अप्ठ्याराहरू संधै हामीसंग खडा भएको हुन्छ । हामी कहिले काही जानी नजानी आफै समस्या निम्ताइरहेका हुन्छौ र सुखको ठाँउमा दुखलाई आमन्त्रण दिईरहेका हुन्छौ । यिनै हाम्रा अनगिन्तीचिजहरूले हामीलाई दुख्खी बनाइ रहेको हुन्छ ।
विभिन्न चिन्तकहरूले गरेका अध्ययन अनुसार केहि बुँदाहरू छन् जसले सदैव सुखी रहन मद्दत गर्छ । हेरौ ति बुँदाहरू :

. बढी सोंच्ने बानीको त्याग
अतित र भबिस्यको चिन्तामा जब बढी सोच्न थालिन्छ तब त्यो व्यक्ति संधै दुखी हुन्छ । अतित संधै बितिसकेको समय हो , न त पश्चाताप गरेर त्यसलाई फर्काउन सकिन्छ न त त्यसमा कुनै परिवर्तन ल्याउन नै सकिन्छ । त्यसैले अतीतलाई सम्झेर चिन्ता गर्नाले समयको बर्बादी र दुस्खी सिबाय केहि हुन्न । भबिस्यको चिन्ता देखि डराउने व्यक्ति सुखी जीवनबाट संधै टाढा हुन्छन् । भोलिको चिन्ताले संधै मानिसलाई दुख्खी बाहेक सुखी बनाउन सक्दैन । भोलि अर्थात भबिस्य संधै अनिश्चित हुन्छ, त्यो समयमा आफु रहन पनि सकिन्छ र नरहन पनि सकिन्छ । आज अर्थात् बर्तमान हामी सबैको लागि महत्वपुर्ण छ । यदि सुखी बन्ने हो भने भुत र भविष्यको चिन्तालाई छाडेर बर्तमानको आबस्यकता के हो त्यसैमा दत्तचित्त भएर लागौ ।

२. अरूसंग तुलना गर्ने आदत
ओहो ! मसंग यो चिज छैन तर उ संग त्यो चिज छ , उसले म भन्दा बढी कमाउछ, उ म भन्दा राम्रो छ आदिजस्ता अरूसंग तुलना गर्ने आदतले मानिसलाई संधै दुस्खी बनाउछ । सुखी बन्नको लागि अरूसंग तुलना गर्ने बानी त्याग्नुपर्छ । सबैलाइ आफु राम्रो हुन मन पर्छ, धेरै पैसा कमाउन मन पर्छ र आफु सुन्दर हुन मनपर्छ । यी सब चिजहरू प्रकृति, समय र परिस्थितिका फलहरू हुन् त्यसैले अरूसंग धेरै छ, अर्थात् आफुसंग छैन भनेर चिन्ता गर्नु नकारात्मक सोचको विकास हुनु हो, यसले मानिसलाई संधै दुख्खी बनाउछ । यस्तो प्रवृतिले मानिसको सुख खोसेर लान्छ । आफु हुनुको महत्व आफैमा खोज्नु पर्छ । प्रत्येक व्यक्ति यो बिश्वमा नै अलग अलग चिज हुन् त्यसैले अरूसंग तुलना गर्नु भन्दा आफुमा भएको चिजमा रमाउन सक्यो भने जीवन सुखी हुन्छ ।

३. आफुलाई आफै दोष दिने बानी
आफुले गरेको गल्तीमा आफैलाई दोष दिने आदतले पनि मानिस सधै दुख्खी हुन्छन । जीवन जिउने भनेकै आफ्नै लागि हो, गल्ति जानेर या नजानेर जो कोही बाट पनि हुन्छ तर त्यहि गल्तीलाई लिएर आफैलाई सजाय दिने प्रबृत्तिले मानिसलाई दुख्खी बनाउछ । आफ्नो भावनाको कदर अरूले गर्ने होइन आफुलाई आफैले गर्नु पर्छ । संसारमा आफुले आफुलाई जति राम्ररी चिनिन्छ त्यो अरूबाट हुन् सक्दैन । त्यसैले आफुले आफैलाई माया गर्ने तथा आफुले गरेको गल्तीलाई माफ गरेर आफुलाई माफ गर्नाले मानिस सुखी बन्न सक्छ ।

४. नकारात्मक टिप्पणीको बेवास्ता गर्ने बानी
हामी रहने र बाच्ने समाजमा प्रत्येक दिन कुनै न कुनै सकारात्मक या नकारात्मक टिका टिप्पणी हुने गर्छन् । आफ्नो बारेमा राम्रो र सकारात्मक सोच्ने मानिस मात्र हुन्नन् कहिले काही विभिन्न नकारात्मक टिका टिप्पणी सुन्नु पर्ने हुन्छ । यस्ता आलोचनालाइ सकारात्मकरूपमा लिन सक्ने अर्थात् बेवास्ता गर्न सक्ने व्यक्तित्व नै सुखी हुन्छन । किनकी जीवनमा संधै राम्रै पाटो भन्ने अबस्य हुन्न त्यसैले आफुलाई मन नलाग्ने र आफुलाई दुख्खी हुने टिका टिप्पणीलाई बेवास्ता गर्नाले एकातिर आफ्नो अमुल्य समयको बचावट हुन्छ भने अर्कोतिर दुख्खी हुन् बाट बचाउँछ ।

५. ब्यस्त रहने बानी
भनाइ नै छ ः खालि दिमाग राक्षसको घर , त्यसैले संधै ब्यस्त रहने मान्छे सकारात्मक सोचका हुन्छन् । फुर्सदको समयमा पत्रिका पढ्ने , टीभी हेर्ने, आफन्तसंग भेटघाट गर्ने, साथीसंग रमाइला कुरा गर्ने प्रबृतिले मानिसलाई सुखी बनाउछ । त्यसैले बढी फुर्सदमा रहनु भन्दा समयलाई ब्यस्त गुजार्न सक्यो भने सुखी जीवनको प्राप्ति गर्न सकिन्छ ।

.सकारात्मक सोचको विकास
जीवनमा संधै सफल र खुसिमात्र कहिले हुँदैन । दुख–सुख, सफलता असफलता सबै चिज एक पछि अर्को गर्दै विभिन्न चरणमा आइ पर्छन् त्यसैले दुख भयो भनेर आत्तिने गर्नु हुन्न । जीवनको कुनै मोडमा असफल हुँदा हतास हुनु हुन्न किनभने सफलता र असफलता संधै आइराख्ने चिजहरू हुन् त्यसैले आफुलाई फेरी पनि सफल बनाउने हिम्मत लिनु पर्छ । जीवनमा आउने हरेक उतार चडावलाइ एउटा पाठकोरूपमा लिन सक्नाले सुखी हुन् मद्दत गर्छ ।

. अरूलाई खुशी पार्ने सोच
आफ्नो लागि मात्र सोच्ने मानिस स्वार्थी हुन् त्यसैले अरूको खुशी र सुखलाई सोच्न सकियो भने त्यसबाट पाउने आनन्द अरू कुनै चिजबाट पाउन सकिन्न । आफु बाहेक आफ्नो परिवारलाई कसरी मदत गर्न सकिन्छ, अर्थात् अन्य दुखमा परेका मानिसलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने बिषयमा दिमाग खर्च गर्यो भने अवश्य पनि अरूलाई केहीमात्रामा सेवा गर्न सकिन्छ । अरूलाई सेवा गर्ने व्यक्ति संधै सुखी हुन्छन ।

विश्वमा सुख प्राप्त गर्न विभिन्न न्यास, ध्यान, ज्ञान, योगासाधना गर्ने केन्द्र बनिरहेका छन् । सुख प्राप्त गर्न सकारात्मक सोच, विचार र धारणाबाट दैनिक खान पिनमा विशेष ध्यान दिने, हरेक दिन समय निकालेर योगासन, प्रणायाम, ध्यान गर्ने, नयाँ नयाँ विषयमा खोज अनुसन्धान अध्ययन गर्ने तथा शारीरिक ब्यायाममा समेत समय दिन सक्नु पर्दछ । समयको गति सगै जीवन परिवर्तन गर्दै योगाभ्यासमा परिवर्तन गर्न सक्नु उपलब्धिमूलक हुन्छ । यसरी सुख प्राप्ती गर्न सकिन्छ । मेरा कारणबाट कसैले जीवन पाईरहेको देख्न सक्नु, जीवनमा हरेक ब्यक्तिसँग केहि न केही क्षमता लुकेको हुन्छ त्यसलाई पत्ता लगाएर लगनशील हुनु नै सुख हो । पेशालाई प्राथमिकतामा राखेर अगाडी बढ्न सक्नु नै खुसी हो ।
(लेखकः नेपाल सरकारका उपसचिव एवं वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६