कुलराज भुसाल, २४ फागुन
प्याब्सन नेपालका केन्द्रीय सदस्य सरोज खनालले एउटै सरकारी विद्यालयले दुई किसिमको शिक्षा प्रदान गरिरहेको आरोप लगाउनुभएको छ । केन्द्रीय सदस्य खनालले कतिपय सरकारी विद्यालयहरुले अंग्रेजी माध्यमको नाममा छुट्टै बोर्डिङ्ग सञ्चालन गरेर विद्यार्थीहरु माथि नै विभेद गरिरहेको बताउनुभयो । कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन बाणगंगा–६ बैदौलीको १३ औं साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै खनालले सरकारी विद्यालयले निजी स्रोतमा छुट्टै व्यवस्थापनका साथ अंग्रेजी माध्यमका कक्षाहरु सञ्चालन गरेर महङ्गो शुल्क उठाइरहेको दावी गर्नुभयो ।
महङ्गो शुल्क तिर्न सक्नेलाई अंग्रेजी माध्यमको व्यवस्थित एवं गुणस्तरिय शिक्षा र शुल्क तिर्न नसक्ने गरिबका छोराछोरीलाई कमसल एवं लटरपटर खालको शिक्षा प्रदान गरिरहेको उहाँले जिकिर गर्नुभयो । सरकारी विद्यालयको यस्तो रवैयाले निजी विद्यालय निकै नै मारमा परिरहेको उहाँको तर्क छ । सरकारी विद्यालयको यस्तो कार्य निजी विद्यालयलाई धराशायी बनाउने प्रपञ्च भएको समेत उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले निजी विद्यालयहरु थला पर्दा समेत सरकारी निकाय तथा वैंकहरुले कुनै सहुलियत नदिएको गुनासो गर्दै उहाँले राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको समेत औंल्याउनुभयो ।
ज्ञानज्योति स्कुलका प्रवन्ध निर्देशक समेत रहनुभएका खनालले स्कुलले छोटो समयमा धेरै फड्को मार्न सफल भएको बताउनुभयो । ग्रामिण भेगमा कम लगानीमा स्थापना भई न्यून शुल्कमा सञ्चालन गर्दा पनि विद्यालयले जिल्लामा विशिष्ट स्थान बनाउन सक्नु विद्यालयको ठुलो सफलता भएको उहाँको भनाइ थियो ।
साधारण सभामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज पोख्रेलले विद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पोखे्रलले नीति तथा कार्यक्रम मार्फत शिक्षण सिकाइ अभिवृद्धि, भौतिक विकास र अतिरिक्त क्रियाकलाप तर्फका फरक फरक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
सभामा प्रधानाध्यापक ठाकुरप्रसाद पोख्रेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पोख्रेलले आफ्नो प्रतिवेदन मार्फत विद्यालयले भौतिक, सामाजिक, व्यवस्थापकीय र शैक्षिक पक्षमा हासिल गरेका प्रगति बुँदागत रुपमा सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ भट्टराईले विद्यालयको आर्थिक प्रतिवेदन तथा रविलाल भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच साधारण सभाले युवराज पोख्रेलको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । निवर्तमान अध्यक्ष समेत रहनुभएका पोख्रेल पुनः अध्यक्षमा चयन हुनुभएको हो । समितिको सदस्यमा प्रकास भुसाल, दिपक खनाल र शान्ता पाण्डे चयन हुनुभएको छ भने सदस्य सचिवको रुपमा विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पोख्रेल चयन हुनुभएको छ ।
त्यस्तै सभाले बालप्रसाद पौडेल संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यमा द्रोणप्रसाद आचार्य, विष्णु रायमाझी, माया सापकोटा र कुलराज बेल्बासे चयन हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा रविलाल भट्टराई तथा सदस्य माधवप्रसाद खनाल र विष्णु ज्ञवाली चयन हुनुभएको छ ।
साधारण सभा विद्यालयका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, सहायक प्रधानाध्यापक प्रकाश विकको स्वागत र खेमराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्थानीय माउण्ट एभरेष्ट सामाजिक संस्थाको अग्रसरतामा सहकारी मोडलबाट सञ्चालन गर्ने गरी २०६५ सालमा स्थापना भएको यस विद्यालय सरकारी नीतिको कारण हाल कम्पनीको रुपमा सञ्चालित छ । कक्षा नर्सरी देखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयबाट हालसम्म १० वटा ब्याचले एसएलसी÷एसइई तथा २ वटा व्याचले १२ कक्षा उत्तिर्ण गरेका छन् । १३ वर्षकै अन्तरालतमा जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल भएको यस विद्यालयबाट एसएलसी तथा एसइई परीक्षामा सहभागी विद्यार्थी मध्येबाट पटक पटक जिल्ला प्रथम तथा जिल्ला दास्रो हुन सफल भएका छन् ।
आधुनिक प्रविधियुक्त बन्दै गएको यस विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, स्मार्ट टिभि, प्रोजेक्टर तथा उच्च गतिको इन्टरनेटको व्यवस्था गरिएको छ । त्यसैगरी पठनपाठन लगायतका गतिविधिको निगरानी, अनुगमन तथा सम्पत्ति सुरक्षणको लागि सिसिटिभि क्यामेरा समेत जडान गरिएको छ ।
जिल्लाका अन्य विद्यालय भन्दा फरक पहिचान दिने गरी अघि बढिरहेको यस विद्यालयमा सुगन्धित जडिबुटी तथा सौन्दर्यजन्य गरि करिब २ सय जातका बोट विरुवा भएको सुन्दर बगैचा निर्माण गरिएको छ । भने प्राचीन कला संस्कृति झल्काउने वस्तुहरु संग्रह गरी नमूना संग्रहालय समेत स्थापना गरिएको छ ।
२४ फाल्गुन २०७८, मंगलबार
प्रतिक्रिया