प्रदेश

एमसीसी देशको हितमा हुँदाहुँदै पनि यसबारे नेताहरूले नै भ्रम फैलाए : मन्त्री खाण



रुपन्देही – गृह मन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज मङ्गलवार रुपन्देहीको मणिग्राममा गृह मन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण चुनावमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसीसीको पक्षमा उभिएर संसदबाट अनुमोदन गर्न सफल भयो ।’ 

गृह मन्त्री खाणले सञ्चारकर्मीलाई पनि एमसीसीबारे सत्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरूले नै एमसीसीबारे भ्रम फैलाएको बताउनुभयो । उहाँले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पार्नुभयो । गृहमन्त्री खाणले आउँदो चुनाव कांग्रेसले नजित्ने हो भने देश अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भन्नुभयो, ‘लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ ।’

उहाँले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गर्नुभयो । सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले मूलधारमा नआएका शक्तिलाई पनि अहिले सरकारले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताउनुभयो । 

यसअघि आजै गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा गृहमन्त्री खाणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे दुई वटा भवन र एचएम ल्याबको उद्घाटन गर्नुभयो । नमुना विद्यालय अनुदान सहयोग र आन्तरिक स्रोतबाट ती भवन  निर्माण गरिएको हो ।  यसैगरी मन्त्री खाणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र  ‘नानी’को पनि विमोचन गर्नुभएको थियो । 

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६