खोज–अनुसन्धान

एमालेलाई जोगाउन र कांग्रेसलाई भत्काउन हतार भएको बुटवलको किल्ला



 

बुटवल २५ फागुन । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल उप्महानगरम स्थानीय निर्वाचनमा एमालेलाई जोगाउन र कांग्रेस लाई भत्काउन हतार भएको छ लालकिल्ला ।चुनाब नजिकिँदै गर्दा बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो विरासत जोगाउला कि गुमाउला भन्नेबारे चर्चा हुन थालेको छ । हाल बुटवल उपमहानगरको नेतृत्व नेकपा एमालेको हातमा छ । तर पार्टी विभाजन भइसकेका कारण आसन्न निर्वाचनमा एमालेलाई कस्तो असर पर्ला भन्नेबारे लेखाजोखा हुन थालेको हो ।लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको नगर प्रमुखमा कुन दलले जित हात पार्ला भन्नेमा धेरैले चासो राखेका छन् । एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको क्षेत्रसमेत रहेको बुटवलमा आफ्नो विरासत जोगाउन एमालेले मेयरमा कसलाई अघि सार्ला भन्नेबारे कार्यकर्ता तहमा चर्चा हुन थालिसकेको छ । यता, नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्लासमेत रहेकाले यहाँ काँग्रेसले पनि आफ्नो प्रभाव बढाउन हरसम्भव प्रयास गर्ने देखिन्छ । बुटवल उपमहानगरमा काँग्रेसले कसलाई मेयरको टिकट दिन्छ भन्नेबारे पनि उत्तिकै चासो बढेको छ ।बुटवलका अहिले मेयरको टिकट हासिल गर्न एमालेबाट आधा दर्जन र नेपाली काँग्रेसबाट पनि करिव आधा दर्जन नेता दौडधुपमा छन् ।बुटवल उपमहानगरको प्रमुखमा उम्मेदवार बन्न आकांक्षा राख्दै आएका एमाले र काँग्रेसका नेताहरु टिकट पाउनका लागि केन्द्रीय नेतासमक्ष धाउनेदेखि कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिँदै आन्तरिक तयारीमा जुटेका छन् ।
२०७४ सालको निर्वाचनमा बुटवल उपमहानगरको प्रमुखमा एमालेका शिवराज सुवेदीसँग काँग्रेसका उम्मेदवार खेलराज पाण्डे झण्डै २ हजार ४०० मत अन्तरले पराजित भएका थिए । सुवेदीको मत २३ हजार २४९ थियो भने पाण्डेको २० हजार ८५१ थियो । उपप्रमुख पदमा पनि एमालेकै उम्मेदवार विजयी भए ।
उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका जगतबहादुर पोखरेल एमाले उम्मेदवार गुमादेवी आचार्यसँग १० हजारभन्दा बढी मत अन्तरले पराजित भए । आचार्यको मत २५ हजार ३०१ र पोखरेलको १४ हजार ७९२ मत थियो ।बुटवलका मेयर शिवराज सुवेदी फेरि पनि उम्मेदवार बन्ने पक्षमा छन् । काँग्रेस नेता खेलराज पाण्डे पनि फेरि उम्मेदवार बन्ने कसरतमा छन् ।
टिकट पाउन दौडधुप :
बुटवल उपमहानगरपालिकामा अन्य दलको तुलनामा एमाले र नेपाली काँग्रेसकै जनाधार बढी छ । त्यसैले पनि यिनै दुई दलमध्ये कुनै एकले बुटवल उपमहानगरको नेतृत्व गर्ने आँकलन गरिएको छ ।बुटवलमा अहिले एमाले र नेपाली काँग्रेस दुवै दलका आकांक्षीहरु उम्मेदवार बन्नका लागि दौडधुप बढाउन थालेका छन् । नेपाली काँग्रेसका क्षेत्रीय सचिव विमलराज भट्टराईका अनुसार बुटवल उपमहानगरमा नेतृत्व हात पार्न काँग्रेसका लागि अहिले उपयुक्त अवसर बनेको छ ।
काँग्रेस र एमालेबाट उपमहानगर प्रमुख पदका लागि उम्मेदवार छान्न त्यति सहज छैन । दुवै दलभित्र गुटबन्दी कायम रहेकाले गुटलाई मिलाएर टिकट दिन सकस हुने देखिएको हो ।
एमालेलाई विगतको विरासत जोगाउने गरी लोकप्रिय उम्मेद्वार छनौट गर्नुपर्ने चुनौती छ भने एमालेलाई पराजित गर्न सक्ने उम्मेदवार छान्नुपर्ने चुनौती काँग्रेससामु छ ।एमालेबाट उपमहानगर प्रमुखमा शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, बाबुराम पन्थीलगायतका नेताहरु आकांक्षी छन् । यद्यपि, पूर्वमन्त्री विष्णु पौडेलले चाहेकै व्यक्ति एमालेबाट उम्मेदवार बन्ने सम्भावना अधिक रहेको स्थानीय नेता तथा कार्यकर्ताको बुझाइ छ ।यता, काँग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, नगर सभापति खेलराज पाण्डेय, महिला नेतृ रिता केसी क्षेत्री, उद्योगी तथा महाधिवेशन प्रतिनिधि चुन्नु पौडेल, व्यवसायी सुरेन्द्र श्रेष्ठ, हरिबहादुर आचार्यले उपमहानगर प्रमुखमा उम्मेदवारी दिने आकांक्षा राखेका छन् । उनीहरु पार्टीबाट टिकट फुत्काउन दौडधुप गरिरहेका छन् । तर, काँग्रेस नेता बालकृष्ण खाणले चाहेकै व्यक्तिले काँग्रेसबाट टिकट पाउने सो पार्टीका स्थानीय नेता कार्यकर्ताको बुझाइ छ ।
नेपाली काँग्रेसको विधानमा स्थानीय तहको टिकट बाँड्ने जिम्मा प्रदेश समितिलाई दिए पनि केन्द्रीय नेताहरुको प्रभाव स्वाभाविक रुपमा पर्ने काँग्रेस नेताहरु बताउँछन् । एमालेसँग भिड्न काँग्रेसले अन्तिममा हरि लम्साल र खेलराज पाण्डेमध्ये एकलाई मैदानमा उतार्न सक्ने बताइन्छ ।
यद्यपि यी दुवै नेता काँग्रेसको संस्थापन इतर पक्षका हुन् । उनीहरु डा। शेखर कोइराला समूहका भनेर चिनिन्छन् । केसी, श्रेष्ठ, पौडेल र आचार्य भने सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । त्यसकारण टिकट बाँड्दा हुने गुटगत भागवण्डाका आधारमा काँग्रेसबाट कसले उम्मेदवार बन्न पाउने हो भन्ने अहिले नै किटान गर्न सक्ने अवस्था छैन ।
राजनीतिक विश्लेषक प्रकाश पोखरेल बुटवल उपमहानगरमा एमालेलाई आफ्नो साख जोगाउने चुनौती र काँग्रेसलाई एमालेको किल्ला भत्काउने अवसरका रुपमा स्थानीय तहको निर्वाचनलाई हेरिने बताउँछन् । कुन पार्टीबाट को उम्मेदवार हुन्छ भन्ने विषयले नै यहाँ कसले बाजी मार्न सक्छ भन्ने आँकलन गर्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६