मोरङ, २५ फागुन । मोरङको प्राचीन शहर तथा पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गर्नुभएको हो ।
रंगेलीमा आयोजित विशाल समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजनालाई पार्टी प्रवेश गराएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो । प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत हुनुहुन्छ । उहाँहरू पनि माओवादीबाटै निर्वाचित हुनुभएको थियो ।
रंगेलीका ९ मध्ये तीन वडाध्यक्ष र मेयर उपमेयर जितेको माओवादीका अब एक वडाध्यक्षमात्र पार्टीमा रहेको छ । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सानो हिस्सामात्र प्रचण्डसँग रहेको भन्दै नेकपा एकताको निरन्तरताका रूपमा एमाले मूलधार रहेको बताउनुभयो ।
प्रतिक्रिया