अर्थ-वाणिज्य

चैत २५ गतेदेखि देशभरका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सुरु



काठमाण्डाै २६ फागुन – सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो । 

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो । आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि  बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उहाँले बताउनुभयो । 

खोपको उपलब्धताका साथै अरू विभिन्न खालको जटिलताका कारण नेपालमा यो खोप यस अगाडि प्रयोग गर्न सकिएको थिएन । केही समय अगाडि नेपालमा टाइफाइडविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल सफल भएको थियो । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । अब त्यही खोप बालबालिकालाई लगाइने भएको हो । 

नेपालमा ट्रायल गरिएकाले भर्खरै विकसित भएको खोप भनेर नबुझ्न र आफ्ना १५ वर्षमुनिका बालबालिकालाई ढुक्क भएर खोप लगाउन  डा. अधिकारीले आग्रह गर्नुभयो । खोप अभियान सञ्चालनका लागि अहिले विभिन्न पालिकाहरूले विद्यार्थीको विवरण माग गरेका छन् । 

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६