प्रदेश

महिनावारीका समयमा गरिने विभेद अन्त्य गर्न सुदूरपश्चिममा सांस्कृतिक महोत्सव



बैतडी, २८ फागुन । महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न पालिकाहरुमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा लोक तथा देउडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशी गीतमार्फत जनचेतना सन्देश दिनुभएको छ ।

आठ सयभन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको थियो ।

सांस्कृतिक महोत्सवमार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतका रुपमा अगाडि सारेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाइका क्षेत्रमा हामी काम गरिरहेका छौँ । तर महिनावारी भएका बेलामा हुने विभेद अझै कायमै रहेकाले सांस्कृतिक महोत्सवमार्फत जनचेतना र परिवर्तन गर्न खोजिरहेका छौँ ।”

महिनावारीका बेला अझै पनि हाम्रो समुदायका महिलाले चर्पी प्रयोग गर्न नहुने, खानेपानीका धारा छुन नपाइने, दूध, दही खान नहुनेलगायतका हानिकारक प्रचलन छन् । महिनावारीका समयमा गरिने विभेद अन्त्यका लागि गीतमार्फत जागरण फैलाइरहेकी गायिका जोशीले बताउनुभयो । महिनावारी भएका समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिनावारी भएका बेला गरिने विभेदले ठूलो समस्या निम्त्याउने गरेको छ, त्यसको अन्त्यका लागि मैले गीतमार्फत सचेतना फैलाइरहेकी छु । यसले केही परिवर्तन ल्याउनेछ ।” ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले स्थानीय तहसँग मिलेर सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा र बझाङमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवमा यस्तै लोक तथा ड्यौडा गायिका रेखा जोशी, गायक महेशकुमार औजी, मनोहर परियार, गोपाल दयाललगायतका कलाकारले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत गर्नुभएको छ । महिनावारी भएका समयमा महिलाले अझै पनि दूध, दही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउनेलगायतका समस्या रहेकाले त्यस्ता खालका समस्या हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरुले बताएका छन् । रासस

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६