अर्थ-वाणिज्य

मानव बेचबिखनका लागि भारत लैजाँदै गरेकी युवतीको उद्धार



विवाहको प्रलोभन दिएर भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेकी एक युवतीलाई सुनसरी प्रहरीले उद्धार गरेको छ। युवतीलाई लैजाँदै गरेका युवालाई पनि प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया थालेको छ।

काठमाडौ महानगरपालिका वडा नं. ४ की २० वर्षे मोक्तान थरकी युवतीसँग घनिष्ट प्रेम सम्बन्ध राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले उद्धार गरेको हो। प्रहरीले कोसी गाउँपालिका वडा नं. ८ भण्टाबारीको सीमानाका नजिकैबाट युवतीलाई उद्धार गरेको हो।

प्रहरीले युवतीलाई भारततर्फ लैजाँदै गरेका काठमाडौमा ठेक्काको काम गर्ने भारत बिहार राज्यको सुपौल जिल्लाको गोपालपुर ग्राम पञ्चायतका ३२ वर्षे महम्मद फिरोजलाई पक्राउ गरी मुद्दा चलाएको छ। पक्राउ परेका फिरोजको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नगेन्द्र कार्कीले बताए।

प्रहरीको प्रारम्भिक अनुुसन्धान अनुसार उद्धार गरिएकी युवतीलाई लामो समयदेखि फिरोजले आफ्नो झुठो प्रेमको जालमा पारेर बेचबिखन गर्न भारततर्फ लागेको खुलेको छ। उद्धार गरिएकी युवतीलाई फिरोजले अविवाहित भएको बताएका थिए। तर, फिरोजको ससुराली घर सुनसरी भोक्राहा नरसिंह भएको खुलेको छ।

केही समयअघि कार्की थरकी १७ वर्षे पहाड तेह्रथुम शुक्रबारे घर भएकी किशोरीलाई पनि उद्धार गरिएको थियो। तेह्रथुमबाट कक्षा १० को पढाई पूरा गरेर मोरङ बासबारी आफन्तकोमा बस्दै आएकी उनको भारतीय युवासँग घनिष्ट सम्बन्ध भयो। घनिस्ट सम्बन्ध भएकाले गर्दा ती युवकसँग माया–प्रेम पनि बस्यो। ती युवा थिए, भारत घर भएका सदाम हुसेन। ती युवाले पनि उनलाई विवाह गर्ने बहाना बनाएर भारत लाने क्रममा प्रहरीले उद्धार गरेको थियो।

श्रृंखलाबद्ध रुपमा नेपाली युवती तथा किशोरीलाई विवाहको बहाना बनाएर भारततर्फ मानव बेचबिखनको उद्देश्य राखेर लाने गिरोहमा संलग्न पक्राउ पर्दै छन् भने थुप्रैलाई उद्धार गरिएको छ। सुनसरी प्रहरीले नै गुल्मी तामघास ग्रामीण नगरपालिका वडा नं. १ घर भएकी १७ वर्षे किशोरीलाई पनि उद्धार गरिएको थियो। भारतका सिवास पासवानले लाँदै गरेको अवस्थामा उनलाई उद्धार गरिएको थियो।

चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमा क्षेत्रमा केन्द्रित छन्। तर, छोटो समयमा अपरिचित व्यक्तिलाई विश्वास गर्ने, सम्बन्ध जोड्ने, नियमित सम्पर्कमा बस्ने र राम्रो जागिर दिने, प्रेम तथा विवाह गर्ने बहानामा किशोरीलाई सीमा कटाउने क्रम बढेको छ।

चेलीबेटी बेच्ने गिरोह नेपालमा सक्रिय रहेको हुँदा समाजमा हेपिएका, पिछडिएका, अशिक्षित, घरेलु हिंसामा परेकालाई दलालमार्फत यौन क्रियाकलापमा तथा आपराधिक क्रियाकलापमा संलग्न गराउन, शारीरिक अङ्गहरु बिक्री गर्ने उद्देश्यले लग्ने गरेको पाइएको छ।

सुनसरी कोसी गाउँपालिकाको कार्यालय, साझा सवालका लागि साझा मञ्च कोकन र प्लान इन्टरनेसनल नेपालको संयुक्त पहलमा कोसी वडा नं. ८ भण्टाबारीस्थित चारकुने नाकामा स्थापन नेपाली चेलीबेटी बेच्ने गिरोहको निगरानी गर्न सूचना केन्द्र स्थापना गरिएको छ। यो सूचना केन्द्रकै सहयोगले सन् २०१७ देखि हालसम्म ९८ जना युवतीलाई प्रहरीले उद्धार गर्न सफल भएको तथ्याङ्मा उल्लेख छ।

सूचना केन्द्रमार्फत मोरङ, सुनसरी, सप्तरी, सिरहा, नुवाकोट, उदयपुर, खोटाङ्, गुल्मी, इलाम, दाङलगायतका जिल्लाका बालिका र किशोरीलाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६