प्रदेश

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैनः प्रचण्ड



मोरङ, २९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आज आइतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरोध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरूबीच गठबन्धन पनि हुन सक्ने बताउनुभयो ।

‘आउँदो चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरूको प्रतिस्पर्धा हुन्छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका पार्टीहरूबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाली कांग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठनबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भन्नु भएकाले यसलाई गठबन्धनले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

उहाँले एमाले नेतृत्वसँग संसद् अवरोध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रूपमा संसद् अवरोधकाबीच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को चुनाव सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिनुभयो ।

मोरङको रङ्गेली नगरपालिकाका मेयरले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जाने क्रम चलिरहन्छ, त्यो उहाँहरूको व्यक्तिगत स्वार्थका कारणले भएको स्पष्ट पार्नुभयो ।

उहाँले तत्काल एमालेसँग चुनावमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै कांग्रेससँग कतिपय ठाउँमा गठबन्धन गरी जान सकिने बताउनुभयो । उहाँले माओवादी विचारधारा मिल्ने वामपन्थी दलसँग गठबन्धन गरी चुनाव जान सक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले एमसीसीको व्याख्यासहितको सम्मानजनक कार्यान्वयन हुने बताउँदै राष्ट्रिय स्वाधीनतासहित विकासमा यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६