जीवनशैली

खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाट, २ जना पक्राउ



काठमाण्डाै ३० फागुन – सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डाैका अनुसार यही फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डाै महानगरपालिका ७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो । 

चाबहिलमा रहेकाे ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि त्यस घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् । 

यसरी लुटपाटमा संलग्न भएकामध्ये अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । पक्राउ पर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन् । अन्य फरार भएकाको खोजी भइरहेकाे जनाइएको छ । उनीहरूकाे साथबाट प्रहरीले एक लाख ६६ हजार रुपैयाँ र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरबारलगायत सामग्री बरामद गरेको छ । 

त्यस घटनाका सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुरमा काठमाण्डाै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६