अर्थ-वाणिज्य

कपिलवस्तुमा पनि मनाईयो विश्व उपभोक्ता अधिकार दिवस



कपिलवस्तु १ चैत । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस कपिलवस्तुमा पनि मनाईएको छ । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको आयोजना तथा कपिलवस्तु उद्योग वाणिज्य संघको समन्वयमा संघको सभाहल चारनम्बरमा दिवस मनाईएको हो ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले विभिन्न किसिमका ठगी र पर्ने मारबाट बच्न उपभोक्ताहरु सधै चनाखो हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख खनालले उपभोक्ताहरुलाई ठग्ने तथा मारमा पार्ने उद्योगीहरु तथा व्यवसायीहरुलाई कडा कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । भौतिक विकासले मात्र समृद्धि सम्भव नभएको बताउँदै उहाँले समाजलाई नै परिवर्तन गर्न आवश्यक रहेको जिकीर गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नारालाई स्पष्ट पार्नुभयो । उपभोक्ताहरुको अनेकौं कमी कमजोरीले उद्योगी व्यवसायीहरुले लापार्वाही गरेको भन्दै उहाँले त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले उपभोक्ताहरुको हकहित तथा अधिकारीलाई संघले सदैव ध्यानमा राखेर काम गरि रहेको दाबी गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका घिमिरेले नेपाललमा व्यापार, व्यवसाय गर्न कठिन रहेको बताउँदै सामानको उपयोग गर्ने हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको उहाँको भनाई छ । उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ । तर पनि व्यवहारमा भने उपभोक्ता सधैँ ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ ।

दैनिक जीवनमा प्रयोग हुने धेरैजसो सामान जोखेर खरिद–बिक्री हुने भए पनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर रहेको पाइएको छ । गुणस्तर तथा नापतौल विभागको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक–तराजु मात्रै होइन, प्रतिबन्धित ढक–तराजुले पनि सामान तौलने गरिएको बजारमा देखिने गरेपनि सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता ठगिन बाध्य भएका हुन् ।

गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६