प्रदेश

बन्दै चुनावी माहोल, होमिए नेता कार्यकर्ता चुनावी गतिविधिमा



काठमाण्डाै २ चैत – स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।

प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ । दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् ।

चुनावसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको तयारी भए पनि यस विषयमा नेपाली कांग्रेसमा सहमति बनिसकेको छैन । गठबन्धन बारे कांग्रेसमा दुई मत छ । नेता शेखर कोइराला पक्षले कांग्रेस एक्लैले चुनाव लड्नु पर्नेमा दबाब दिइरहेका छन् भने नेता रामचन्द्र पौडेल पक्षले गठबन्धनलाई जोड दिएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन बनाएर जाने कि एक्लै जाने भन्ने विषयमा यो महिनाको तेस्रो हप्ता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताउनुभयो ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि चुनाव केन्द्रीत कार्यक्रम गर्न थालेको छ । एमालेले महानगर, उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार केन्द्रबाटै तय गर्ने भएको छ भने महानगर उपमहानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारको टुंगो प्रदेश कमिटिले लगाउने भएको छ ।

यसैबीच, ठूला दलसँगै साना दल पनि चुनावको तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलहरु चुनावी अभियानमा जुटेका छन् । सरकारले पनि चुनावी वातावरणलाई भयरहित बनाउन सुरक्षाका योजना बनाएको छ ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा समन्वय समिति गठन गरिएको छ भने सुरक्षा व्यवस्थापनमा सघाउन एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन समेत मागेको छ । इच्छुक व्यक्तिले आउँदो आइतबारदेखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन पाउनेछन् ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६