कपिलवस्तु, ०२ चैत्र। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ ।
यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन ।
बुधबार कपिलवस्तुको शिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।
प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन् ।
सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।
पार्टीको बैठकले पार्टी केन्द्रीय सदस्यहरुको जिम्मेवारीमा जिल्लाको इन्चार्ज, सहइन्चार्ज, चैत्र ५ गते देखि १५ गतेसम्मको राजनीतिक तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो । सबै पार्टी कार्यकर्ताहरुले अब स्थानीयतहमा विजय बनाउने गरि लाग्नु पर्ने नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताउनुभयो ।
नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।
प्रतिक्रिया