प्रदेश

डढेलो नियन्त्रणका लागि कम्पोस्ट मल बनाउन सुरु



दाङ, ०४ चैत्र । दाङमा डढेलो नियन्त्रणका लागि वनबाट पात पतिङ्गर सङ्कलन गरी कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले डढेलो जोखिम क्षेत्रको पहिचान गरी आठ ठाउँमा कम्पोस्ट मल बनाउन सुरु गरेको हो ।

वनमा रुखबाट झर्ने पातपतिङ्गर, स्याउला र सुक्खा घाँसका कारण बर्सेनि वनमा डढेलोको घटना बढेको भन्दै वन डढेलो नियन्त्रण र स्थानीय किसानको उत्पादनमा सहयोग गर्नका लागि कम्पोस्ट मल बनाउने काम थालिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

वनमा खेरा गइरहेको वस्तु सङ्कलन गरी उत्पादन हुने प्राङ्गारिक मल स्थानीयलाई दिइने र यो मलबाट किसानले आफ्नो उत्पादन बढाउन सक्ने सूचना अधिकारी केसीको भनाइ छ ।

वनमा डढेलो लगाउनु हुँदैन भन्ने चेतनाको अभाव तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पछिल्लो नौ वर्षमा दाङको ६ सय १४ ठाउँमा डढेलो लाग्दा झण्डै ४३ हजार वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय दाङको तथ्याङ्क छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६