काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिन सक्छु भनेर सोच्नुपर्ने बताउनुभएकाे छ । आज आइतवार काठमाण्डाैमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उहाँले सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, ‘देशले मलाई केही दिएन भन्नुभन्दा पनि मैले देशलाई के दिएँ ? के दिन सक्छु ? के गर्न सक्छु भन्ने सोचको विकास हुनु जरुरी छ जस्तो मलाई लाग्छ । र केही न केही आफ्नो ठाउँबाट योगदान गरौँ भनेर अभियान थाल्ने अभियानकर्मीहरूलाई धेरै धन्यवाद दिन चाहान्छु ।’
उहाँले अनुशासित, नैतिकवान्, पारदर्शी र अरूको हितका लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभयाे । समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यस प्रकारको विभेदको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।
उपराष्ट्रपति पुनले विभेद अन्त्यका लागि थुप्रै खालका राजनीतिक सङ्घर्षहरू भए पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीले पढ्न नपाउने, कोही व्यक्तिले चाहिँ लाखौँ/करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही व्यक्ति सिटामोल पनि नपाएर मर्नुपर्ने यो कस्तो असमानता ? त्यस कारण हामीले भन्ने गरेका छौँ समानता हुनुपर्दछ । विभेदको अन्त्य हुनुपर्दछ ।’
प्रतिक्रिया