राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म ठीक नेता र ठीक पार्टी रोज्न नसक्दा नेपाली जनताले दुःख पाएको दावी गरेका छन्। उनले २०४६ सालयता भएका हरेक निर्वाचनमा जनताले ठीक पार्टी र ठीक नेता चुन्न नसकेको बताए। ‘नेपाली जनताले पूर्व जन्ममा कुनै पाप र अपराध गरेबापत दुःख भोग्नु परेको होइन,’ अध्यक्ष लिङ्देनले सोमबार सुनसरीको बराहक्षेत्रमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा भने। उनले काँग्रेस, एमाले, माओवादी अलग नभएर एकै भएको टिप्पणी गरे।
‘यी तीन पार्टीको नाम र साइनबोर्ड मात्र अलग हो,’ उनले भने, ‘खाने बेलामा एकै हुन्छन, विदेशको पाउ पर्नेमा एक ठाउँमै हुन्छन्।’ उनले एमसिसि पास गर्ने बेलामा ठूला पार्टीको व्यवहार एउटा शाकाहारी पण्डितले मासु खान मन लागेर खसीको मासुको स्रोत भनेको त घास भएकाले घास भनेको त शाकाहारी नै हो भनेर मासु खाने मेलो गरेजस्तो गरि व्याख्यात्मक टिप्पणी भनेर एमसिसि पास गरे बताए। ‘अर्काले सहयोग दिएर आपतविपत्त परेका बेला सामान्य राहत होला तर मागेरै कोही धनी हुँदैन, पौरख गर्नुपर्छ,’ विदेशी सहयोग लिएर देशको विकास गर्ने शीर्ष नेताहरुको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै नेता लिङ्देनले भने।
उनले अहिले देश सामान्य आँखाले देखेजस्तो नभएर सवै संरचना भत्किएको जिकिर गरे। ‘अहिले देशको अवस्था सामान्य छैन, सामान्य दृष्टिकोणले मात्र हेर्दा ठीकै चलिरहेको छ जस्तो लाग्छ। तर, सामान्य देखेजस्तो छैन,’ उनले भने, ‘तीन महिनादेखि अदालत अदालत जस्तो छैन, एउटा न्यायधीशले अर्को न्यायधीलाई भ्रष्टाचारी भनेर आन्दोलन गरेर बसेको छ।’ उनले दलका तर्फबाट नियुक्ती भएका न्यायधीशहरु दलीय स्वार्थमा काम गर्न थालेको आरोप लगाए।
‘संसद संसद जस्तो छैन, सरकार त कहाँ हराएको छ, कहाँ?,’ उनले अहिले नेपालको इतिहासमै सवैभन्दा नराम्रो ढंगले वैदेशिक सम्बन्ध विग्रिएको पनि जिकिर गरे। ‘यस्तो गलत क्रियाकलापको नोक्सानी सत्तापक्षीय र प्रतिपक्षले मात्र नेपालका समग्र नेपालीले बेर्होनुपरेको छ,’ उनले भने। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राप्रपा नेपालले शक्ति प्रदर्शनको रुपमा बराह क्षेत्रमा आमसभा गरेको हो।
प्रतिक्रिया