प्रदेश

चुनाव नजिकिएसँगै राजनीतिक दलहरु मधेस प्रदेश केन्द्रित



काठमाण्डौ, ०८ चैत्र । स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् ।

धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन् । मुख्य राजनीतिक दलको ध्यान अहिले उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित छ ।

चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । यस्तै, पार्टी विभाजनपछि मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आउँदो चुनाव मार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लामा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ कार्यक्रममा पुग्ने गर्नु भएको छ ।

एमाले नेता तथा मधेस प्रदेश सह(इञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडावडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिनुभयो । त्यस्तै माओवादी केन्द्रले नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ ।

चुनावी तयारीस्वरुप माओवादी केन्द्रले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत गर्न लागेको छ । कार्यक्रमका लागि प्रचण्ड जनकपुर जाँदै हुनुहुन्छ । पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदैछ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६