काठमाडौं, ०८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। मंगलबार वीर अस्पतालमा उपचाररत सशस्त्रद्वन्द्व का घाइतेलाई भेटे लगत्तै प्रचण्ड प्रधानमन्त्री देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन्।
प्रचण्डले प्रधानमन्त्रीसँग भेटका क्रममा द्वन्द्वमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्बोधन गर्नेगरि काम गर्न भन्दै पाँच बुँदै ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।
त्यसक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन, सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने व्यवस्था गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरणको व्यवस्था गर्नुपर्ने, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद भएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनेबारे प्रधानमन्त्रीलाई प्रचण्डले ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया