खोटाङ ११ चैत – खोटाङमा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एक दिनका लागि गाउँपालिका बन्द गरेको छ ।
गएकाे बुधवार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज शुक्रवार गाउँपालिका बन्द गरेको हो ।
नेता बस्नेतमाथि साङ्घातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालय, व्यापार–व्यवसाय, सङ्घ–संस्था एक दिनका लागि बन्द गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले बताउनुभयो ।
एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोत्तल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेसले दाबी गरेको छ । बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको अहिले न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमार राईले भने जाँड–रक्सी खानेक्रममा केही व्यक्तिबीचको विवादलाई राजनीतिक रङ्ग दिएर एमालेको नाम जोडेर बदनाम गरेको बताउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन, चिसापानी ट्रस हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा अवरोध पुर्याउनका लागि गठबन्धन दलले बन्द आह्वान गरेको एमालेले दाबी गरेको छ ।
प्रतिक्रिया