काठमाण्डाै १२ चैत – दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय ७९ रनको लक्ष्य दिएको छ ।
दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।
१ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो ।
कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए । तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा पुर्याएका हुन् ।
प्रतिक्रिया