काठमाण्डौ, २१ चैत्र । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ६९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज सोमवार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए । यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ खेश २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका सेमो कमियाले तीन विकेट लिए ।
नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अङ्कसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेको हो ।
आजको खेलमा ५४ रन बनाएका दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आजको खेलमा सुरुवाती २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् ।
दीपेन्द्रपछि नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेमा पूर्वकप्तान पारस खड्का रहेका छन् । सात सय ९९ रन बनाएका छन् ।
प्रतिक्रिया