काठमाडौं २३ चैत । सत्तारुढ पाँच दलीय गठबन्धन अन्तर्गतको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे चैत २६ गतेसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रहरुलाई निर्देशन दिएको छ ।
समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बुधवार बसेको बैठकले चुनावी तालमेल गरेर २६ गतेसम्म केन्द्रमा जानकारी गराउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । बैठकमा तालमेलबारे मंगलवारसम्म भएका कामहरुको समीक्षा र केन्द्रबाट भनेअनुसार काम भए नभएकोबारे छलफल भएको थियो । गठबन्धनमा आवद्ध दलहरुबीच तालमेलबारे धेरैजसो जिल्लामा छलफल भएको र कतिपयमा छलफल हुन बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको रिपोर्टिङ भएको थियो । बुधबारको बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।
बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल उपस्थित थिए ।
प्रतिक्रिया