प्रदेश

पालिका चुनावमा पाँच दलीय गठबन्धनः केन्द्रको निर्णय एकातिर, ग्राउण्डलेभलको माहोल अर्कै




काठमाडौँ, २६ चैत्र । सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने नीति लिए पनि जिल्ला र पालिकास्तरको माहोल भने बेग्लै देखिएको छ । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाट निर्णय गरे पनि त्यसलाई स्वीकार गर्ने मनस्थितिमा नेता–कार्यकर्ता देखिँदैनन् ।

देशभरका ६ महानगरपालिकामध्ये चितवनको भरतपुरमा प्रमुख पद कसले लिने भन्ने बिषयमा अहिले सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुरा मिलेको छैन । गठबन्धनको मूल्य र मान्यता नै आलोपालो भएकोले यस पटक भरतपुरमा माओवादी केन्द्रले कांग्रेसलाई नै सघाउनुपर्ने नेताहरुको अडान छ । माओवादीले कांग्रेसलाई सघाएमा दुई दलका कार्यकर्ताबीच २०७४ को निर्वाचनपछि धमिलिएको सम्बन्ध पनि सुधारिने र गठबन्धन पनि अझ मजबुत बन्ने चितवन कांग्रेसका सभापति राजेश्वर खनाल बताउनुहुन्छ ।

भरतपुरमा यस पटक कुनै हालतमा पछि नहट्ने निर्णय चितवन कांग्रेसले गरिसकेको छ । तर माओवादी केन्द्रको दबाबले अडानबाट पछि हट्न केन्द्रबाट निर्देशन आउन सक्ने नेताहरुको आशंका छ । सभापति खनालले समूहबाट निर्देशन नगर्न केन्द्रलाई सचेत गराउँदै कार्यकर्तालाई नअठ्याउनसमेत आग्रह गर्नुभयो । उता, मोरङको बिराटनगर महानगरपालिकासहित सुनबर्षी गाउँपालिकामा कांग्रेसले एक्लै चुनावमा जाने निर्णय गरेपछि त्यहाँ पनि गठबन्धन भाँडिने स्थिति सिर्जना भएको छ । कांग्रेसको यस्तो निर्णयपछि गठबन्धनभित्रका अन्य सहयात्री दलले छुट्टै छलफल थालेका छन् ।

सहमति विपरित स्थानीयस्तरमा कांग्रेसले दम्भ देखाएको भन्दै माओवादी केन्द्र, जनता समाजबादी पार्टी र एकीकृत समाजबादी पार्टीले तालमेल गरेर चुनावमा जाने विकल्पका रुपमा छलफल अघि बढाएका हुन् । यस्तै, ओखलढुंगामा पनि साझा उम्मेदवार तय गर्न सत्तागठबन्धनले गरेको प्रयास असफल भएको छ । प्रायः स्थानीय तहमा ठूला तीन दलले प्रमुखमा दाबी गरेपछि साझा उम्मेदवार छान्न गठबन्धनलाई सकस परेको हो । गठबन्धनभित्र बढ्दो सकसले ओखलढुंगामा चुनावी तालमेल नै अन्योलमा परेको छ । त्यहाँ पनि कांग्रेस नै हाबी भएको छ ।

यता, माओवादी केन्द्रले आधारभूत रुपमा गठबन्धनले केन्द्रमा तय गरेको सिद्धान्त र नीति कार्यान्वयनमा जोड दिएको छ । उक्त सिद्धान्तलाई पार्टीमा पनि कार्यान्वयन गर्ने दायित्व कांग्रेसको भएको माओवादी नेता लिलामणी पोखरेल बताउनुुहुन्छ । त्यसमा कांग्रेस चुकेको खण्डमा त्यसका परिणाम निक्कै गह्रुँगो हुने नेता पोखरेलको चेतावनी छ । गठबन्धनभित्र छलफल जारी रहेकाले यी विषय छिट्टै टुंगोमा पुग्ने कांग्रेस नेताहरु बताउँन् । त्यसका लागि गठित संयन्त्रले काम गरिरहेको भन्दै चाँडै निष्कर्षमा पुग्ने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतको विश्वास छ ।

भरतपुर र विराटनगर मात्र नभइ रोल्पाको अवस्था पनि उस्तै छ । जिल्लाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्रबाहेकका छुट्टै संयन्त्र बनेको छ । स्थानीय स्तरमा नेता–कार्यकर्ताबीच तालमेलबारे मतैक्य हुन नसकिरहेको बेला केन्द्रले भने चुनावको माहौल सिर्जना गर्न संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको छ । केन्द्रले एउटा निर्णय गर्ने तर ग्राउण्ड लेभलमा त्यसको कार्यान्वयन नहुने अवस्था सिर्जना हुँदा गठबन्धन नै धरापमा पर्ने विश्लेषण हुन थालेको छ ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६