अन्तर्राष्ट्रिय

टर्कीबाट ३७ नेपाली किन पक्राउ परे ?




एजेन्सी २७ चैत्र । टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छिर्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए ।इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् । पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पाएका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको थियो ।

उनले पक्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घटनापछि सील गरिएको बताए ।घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट नजान र त्यो खतरनाक रहेको बताउँदै आएका छौं । तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरुको संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नियन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी निगरानीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।

अवैध रुपमा टर्कीबाट ग्रिस छिर्ने क्रममा हुने दुर्घटनामा नेपालीहरुको मृत्यु हुने श्रृंखला निरन्तर रहे पनि नेपालीहरु संगठित मानव तस्करको भरमा अवैध रुपमा ग्रिस छिर्न जस्तोसुकै जोखिम उठाइरहेको देखिन्छ । २५ कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु भएको थियो ।त्यसलगत्तै माघ २० मा पनि अवैध रुपमा गिस छिर्न लागेका आप्रवासीहरुलाई सीमा सुरक्षा अधिकारीहरुले फिर्ता पठाएपछि फर्किने क्रममा अत्यधिक चिसोका कारण १९ आप्रवासीहरुको मृत्यु भएको थियो । जसमा केही नेपालीहरुको पनि मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले इन्टरपोलमार्फत बुझबुझारथ थालिरहेको छ ।
ब्युरोको प्रमुख एसएसपी टेक प्रसाद राईले केही नेपाली टर्कीबाट ग्रिस छिर्ने क्रममा हराएको भन्ने निवेदन आएको र सोही समयमा आप्रवासीको मृत्यु भएको समाचार पनि आएकाले मृत्यु भएकामध्ये कोही नेपाली छन कि भनेर बुझ्न पत्राचार गरेको बताए ।अध्यक्ष घिसिङले संगठित मानव तस्करका विभिन्न एजेन्टहरुको भर परेर लाखौं खर्चेर जोखिमपूर्ण तरिकाले ग्रिस छिर्ने क्रममा नेपालीहरु जोखिममा पर्दै आएको बताए । उनले भने, ‘हामीले यसरी जान खोज्नेलाई यो गलत तरिका हो भनेका भन्यै छौं तर पनि यस्तो क्रम रोकिएको छैन ।’

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६