राजनीति

एमाले अध्यक्ष ओली पटक पटक उत्तानो पछारिएका छन् : माधव नेपाल



नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली उत्तानो पछारिएको बताएका छन्।

पार्टीको जिल्ला कमिटीले सोमबार बागलुङमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पटकपटक ओली उत्तानो पछारिए पनि ठूलो स्वर गर्न नछाडेको बताए। ‘वकिलहरुको चुनाव भयो, ओलीका एउटा मान्छे पनि नपर्ने गरी हाम्रो मान्छेहरुले जिते, राष्ट्रिय सभाको निर्वाचन भयो, एउटा बाहेक सबै हाम्रा मान्छेले जिते,’ उनले भने,‘ओली पटकपटक उत्तानो पछारिएका छन्। तै पनि ज्याद्रो पहलवानले झैं खुट्टा ठाडो पारेर म ठाडै छु भन्ने गर्छन्।’

उनले पछिल्लो समय समाजवादी पार्टीमा जनलहर बढेको समेत दाबी गरे। ‘म जहाँ जान्छु त्यहाँ पार्टीमा जनलहर बढेको छ,’ उनले भने,‘ठाउँ ठाउँमा एमालेको सबै भाँडो समाजवादीको थालीमा घोप्टिएको छ। एमालेहरु ट्वाँ परेका छन्। विचराहरुको हरिबिजोग।’ ठाउँ ठाउँमा हजार पन्ध्र सयजनाभन्दा बढी नेता कार्यकर्ता र जनप्रतिनिधिहरु आफ्नो पार्टीमा प्रवेश गर्ने गरेको भन्दै यसको लोकप्रियता बढेको बताए। ‘धेरै जसो मानिसहरु एमालेबाट आउनुभएको छ, कतिपय त सिंगै पार्टी हामीमा मिल्न आउनुभएको छ, कतिपयको ४० जिल्लामा संगठन र कतिपयको १६ जिल्लामा संगठन छ। उहाँहरुले पनि हामीमा आशा भरोसा देख्नुभएको छ।’ उनले पुराना अनुभवी र खारिएका नेताहरुले दक्षिणपन्थी अवसरवादका विरुद्धमा विद्रोह गरेर क्रान्तिकारी पार्टी निर्माण गरेको दाबी गरे।

‘हामीले ओलीलाई सुधार्न खोज्यौं, पार्टीलाई कम्युनिष्ट पार्टीको विचारमा अगाडि बढाउन चाह्यौं, तर ओली पार्टीको बैठक भन्यो कि तर्सिन थाले,’ नेपालले भने,‘अनि मैले सम्झिन थालें, बैठकबाट तर्सिने नेता, वर्षातबाट तर्सिने किसान, भैंसी देख्दा तर्सिने गोठालो, नदी देख्दा तर्सिने माझी, बन्दुक देख्दा तर्सिने सिपाहीको कुनै काम हुन्छ? बैठकबाट साटो जाने केपी ओली, अनि के सोचे भने मेरा विरोधी जति सबैलाई निकालिदिन्छु चाकडी गर्नेहरु खोजी खोजी ल्याउँछु भनेपछि इमान्दार व्यक्तिहरु त्यहाँ रहने अवस्था भएन।’ केपी ओलीले एकपछि अर्को गल्ती गर्दै जाने र पार्टी फुटाउने काम गरेपछि आफूहरुले क्रान्तिकारी पार्टी निर्माण गरेको नेपालको दाबी छ।

संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद भङ्ग गरेपछि आफुहरु त्यसको विरुद्धमा उभिएको उनको भनाई छ। गठबन्धनमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए।

‘पाँच दलीय गठबन्धनमा हाम्रो पार्टी निकै महत्वपूर्ण भूमिका छ,’ उनले भने,‘अरुले पनि हाम्रो पार्टीबाट आशा गरेका छन्। अपेक्षा गरेका छन्। हामीले छोटो समयमा सबै जनवर्गीय संगठनहरुलाई देशभरी फैल्याएका छौं।’ उनले समाजवादी पार्टीप्रति विश्वास जागेको उल्लेख गरे। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आफूहरुले देश विकासका लागि विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको बताए।

‘आफ्नो गाउँ आफै बनाउँ अभियान हामीले ल्यायौं, सामाजिक सुरक्षा भत्ताको कुरा हामीले ल्यायौं,’ नेपाल भन्छन्,‘मै प्रधानमन्त्री हुँदा २०६६ सालमा मध्यपहाडी लोकमार्गमा १० नयाँ शहरको अवधारणा ल्याउन पहल गरेको थिएँ।’ उनले विगतमा आफूले पार्टी नेतृत्व गर्दा र सरकारको नेतृत्व गर्दा पनि विकास निर्माण र जनतामा लोकप्रिय कार्यक्रमहरु ल्याएको बताए। ‘अब निर्वाचन आउँदैछ, जनताले केपीको पार्टी र तपाईको पार्टीमा के फरक छ भनेर सोध्छन्,’ उनले भने,‘तपाईहरुले हामीले पार्टी र सरकार नेतृत्व गर्दा गरेका राम्रा कामहरुको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस्।’

केपी ओली नेतृत्वको एमाले पार्टी अहिले दक्षिण पन्थीहरुको झुण्ड भएको उनको टिप्पणी थियो। नेता नेपालले स्थानीय निर्वाचनको तयारी तीव्र बनाउन कार्यकर्तालाई निर्देशन पनि दिए। उनले सामाजिक न्यायको सिद्धान्तसहितको कम्युनिष्ट पार्टी आफूहरुले निर्माण गरेको र ओली मानसिकतालाई पराजित गर्न गठबन्धन दलहरु सिटको बाँडफाँडमा लागेको बताए।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६