काठमाण्डौ २ बैशाख – काठमाण्डौ उपत्यकासहित तराईका जिल्लामा बिहानदेखि नै घाम लागेको छ । तर, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद्ले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
यस्तै, पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढ्दो छ । गएको २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, जनकपुरको ३९ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको ३९ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव ५ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ८ डिग्री सेल्सियस, धनगढीको ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।
प्रतिक्रिया