कञ्चनपुर ३ बैशाख – धामीझाँक्रीको कुटपिटबाट कञ्चनपुरको वेदकाेट नगरपालिकामा एकजना महिलाको ज्यान गएको छ । धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणदत्त भट्टले झारफुकका नाममा गएराति सरिया तताएर कुटपिट गर्दा वेदकाटे नगरपालिका ६ मुसेपानीका ४२ वर्षकी रञ्चुला साउँदको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको गएराति ज्यान गएको र आज बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न दुवै जनालाई पक्राउ गरिएको र महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताउनुभयो ।
वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।
प्रतिक्रिया