काठमाण्डाै – नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात् अनअराइभल भिसाका लागि दुई सय अमेरिकी डलर नगद साथमै बोकेर आउनुपर्ने प्रावधान खारेज भएकाे छ ।
विमानस्थल अध्यागमन कार्यालयले सूचना निकालेर एटीएम मेशिन र विद्युतीय भुक्तानी सेवामा समेत समस्या आएको भन्दै नगदै बोेकेर आउन पर्यटकसँग आग्रह गरेको थियो । अध्यागमन कार्यालयको सूचनाको चैतर्फी आलोचना भएपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयको निर्णय खारेज गर्दै सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको निर्देशनअनुसार विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन जडानको काम सुरु भइसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटीएम मेशिन र दुई वटा पीओएस मेशिन थप गर्न लागेको उहाँले बताउनुभयो ।
नगदै बोक्नुपर्ने सूचनाले अध्यागमन प्रशासन र विमानस्थल सुरक्षा एवम् आन्तरिक व्यवस्थापनमा देशकै छविमा असर भनेर आलोचना बढेपछि आज साेमवार गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियाे ।
प्रतिक्रिया