नेपाल रिपब्लिक मिडिया १३औं वर्ष पूरा भई १४औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना भएका छन्।
मिडियाले मंगलबार राजधानीमा एक कार्यक्रमबीच १४औं वार्षिकोत्सव मनाउँदै सहकर्मीलाई पुरस्कृत गरेको छ। मिडियाले नागरिक नायक भने आफ्नो वार्षिकोत्सवको दिन पारेर वैशाख ११ गते घोषणा गर्ने भएको छ।
वार्षिकोत्सव कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले समाजको विकास नभई राष्ट्रको विकास नहुने बताए। प्रबन्ध निर्देशक ज्ञवालीले पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रलाई सही बाटोमा डोर्याउने प्रयत्न गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे। ‘हाम्रो एउटा मात्रै संकल्प समाज र राष्ट्र निर्माण गर्न सकेको खण्डमा मात्रै अन्य क्षेत्रको पनि विकास गराउन सकिन्छ भन्ने हो,’ ज्ञवालीले भने, ‘देश नबनी कुनै उद्योगधन्दा तथा अन्य संस्थासमेत बन्दैनन्। त्यसैले मुलुकको प्रगति र विकासका लागि सबै अग्रसर हुनुपर्छ।’
मिडियाकी निर्देशक शोभा ज्ञवालीले मुलुकले विगत सात वर्षको अवधिमा भूकम्प, नाकाबन्दी र महामारीजस्तो विपत्तिको सामना गर्दै आइरहेको बताउँदै अन्य क्षेत्रजस्तै मिडिया पनि प्रभावित भएको औंल्याइन्। ‘विगत सात वर्ष अवधिमा मुलुकले भूकम्प, नाकाबन्दी र महामारीजस्तो प्राकृतिक विपद्सँग जुध्दै आइरहेको छ,’ उनले भनिन्, ‘अन्य क्षेत्रले जस्तै मिडियाले पनि विभिन्न प्रकृतिका समस्या झेल्दैआइरहेको छ।’ निर्देशक ज्ञवालीले पत्रकारिता क्षेत्र समाजको ऐनाजस्तै बन्नुपर्ने धारणा व्यक्त गरिन्। ‘ऐनाले जस्तै मिडियाले समाजमा भएका राम्रा र नराम्रा कुरालाई दुरुस्तै देखाउनुपर्छ,’ उनले भनिन्, ‘कोभिड–१९ ले पत्रकारिता क्षेत्रमा धेरै प्रभाव पारे पनि सम्बन्धित निकायले आवश्यक चासो दिएको देखिँदैन।’ निर्देशक ज्ञवालीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिडिया क्षेत्रलाई आवश्यक सहयोग नगरेको गुनासो गरिन्। ‘सञ्चार मन्त्रालयले मिडियासम्बन्धी कानुन तथा अन्य विषयमा मिडियाका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘तर मन्त्रालयले अहिलेसम्म मिडिया क्षेत्रका उद्यमीसँग समन्वय र सहकार्य गरेको छैन।’
मिडियाकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीले कोभिड–१९ को कारणले मिडियालगायत क्षेत्रमा गम्भीर असर पारेकाले आगामी दिनमा कोभिड–१९ को असरको छिट्टै अन्त्य हुने आशा व्यक्त गरिन्। ‘भ्रष्टाचारविरुद्धको अभियानमा यस मिडियाले निकै लोकप्रियता हासिल गर्दै आइरहेको छ,’ उनले भनिन्।
नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले कोभिड–१९ को कारणले मिडिया क्षेत्र अन्य क्षेत्रजस्तै समस्यामा भए पनि सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए। ‘अहिले समस्या नभएको क्षेत्र कुनै पनि छैन। यावत् समस्याका बीच पनि सम्भावनाको अवसर खोज्नुपर्ने हुन्छ,’ उनले भने, ‘पत्रकारिता क्षेत्रमा समस्याकै बीचमा पनि सम्भावनाका अवसरहरू लुकेर बस्ने भएकाले ती अवसरलाई सही समयमा उपयोग गर्नुपर्ने हुन्छ।’ प्रधानसम्पादक लुइँटेलले महामारीबाट बाहिर निस्केर पत्रकारिता क्षेत्रलाई फेरि जागृत गराउनुपर्ने बेला भएको बताए।
कार्यक्रममा मिडियाले वर्षभरिमा उत्कृष्ट काम गर्ने विभिन्न तीन विधाका कर्मचारीलाई पुरस्कृत गरेको छ। नागरिक दैनिकका तर्फबाट वर्षभरि उत्कृष्ट समाचार लेखनतर्फ पत्रकार टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको छ। त्यस्तै रेडियो नागरिकका केशवकुमार मल्ल ठकुरी (अमृत) र मार्केटिङ विभाग प्रमुख अनिल बाँस्कोटा पनि पुरस्कृत भएका छन्।
प्रतिक्रिया