दाङ । जनयुद्धको समयमा तत्कालिन नेकपा माओबादीका कार्यकर्ता, लडाकु र स्थानीयबासीहरुले मिलेर ट्रयाक खोलेको घोराही–होलेरी सडक शान्ति सम्झौतापछि शहिद मार्गको रुपमा मान्यता पायो । त्यसपछि सरकार आफैले घोराहीबाट रोल्पाको होलेरी, रुकुम हुँदै डोल्पा जोड्ने लक्ष्य राखेर यो सडकको स्तरोन्नती सुरु गरेको थियो । घोराही-होलेरी सडक खण्ड तीन वर्ष अगाडी मात्रै कालोपत्रे भएको थियो । तर अहिले कालोपत्रे खोज्नु पर्ने अवस्थामा पुगेको छ, सडक भताभुंग भएको छ, जीर्ण भएको छ ।
घोराहि होलेरी सडकखन्डमा दुर्घटनाको उच्च जोखिम मोलेर यात्रु र यातायातका साधनसञ्चालन हुन्छन् । आफैमा अफ्ठेरो मानिने यो सडक खण्ड झन जिर्ण हुँदा यात्रा अवधीभर भगवानको नाम लिनु वाहेक अरु विकल्प छैन । दाङको घोराहीदेखि रोल्पाको होलेरी बजारको दुरी ३१ किलोमिटरको हो । सामान्य अवस्थामा ४५ मिनेटमा आउजाउ हुने यो सडक खण्डमा अहिले करिब २ घण्टा लाग्छ ।
घोराही उपमहानगरपालिका १५ का भीष्म झाँक्री पेशाले शिक्षक हुन् । उनी हप्तामा २ दिन घोराही–होलेरी सडक खण्ड मार्फत दाङ–रोल्पा आउने जाने गर्छन् । यो सडकमा यात्रा गर्दा एक जोर कपडा झोलामा बोकेर हिँड्छन् । धुलो र हिलोले लगाएको कपडा बाटैमा बिग्रिने भएकाले थप कपडा बोकेर हिँड्नुपर्ने उनको भनाइ छ ।
यात्रुहरू मात्र नभई सडक वरपरका बासिन्दाले पनि समस्या भोग्दै आएका छन् । दाङ ल्हापेका दिलबहादुर पुनले सडकमा गाडी हिँड्दा धुलो उडाएर घरभित्र पुग्ने गरेको बताए । उनले सडकमा धुलो र खाल्टाखुल्टीले गर्दा पानी परेको समयमा पनि उस्तै समस्या हुने गरेको बताए । सडकका कारण धेरै समस्या भोगेका छौं’, उनले भने, ‘धुलो उडेर घरभित्र पस्छ ।’
त्यसैगरी दाङ घोराही उपमहानगरपालिका १८ का विकास केसी चालक हुन् । उनले दाङदेखि रोल्पाको होलेरी गाडी चलाउन लागेको करिब १४ वर्ष भयो । तर, उनले सडक पक्की भएको करिब ६ महिना जति राम्रोसँग गाडी चलाएको बताए । उनले निर्माण भएको छोटो समयमा सडक फेरि पुरानै अवस्थामा पुगेको भन्दै धुलो, हिलोका कारण धेरै सास्ती भोग्दै आएको बताए ।
त्यस्तै रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाका अनुसार सडक अत्यन्त जीर्ण हुँदा सबैले सास्ती भोग्दै आएका छन् । यो सडकमा खानीबाट धेरै टिपर चल्दा जीर्ण बनेको उनको भनाइ छ । संघीय सरकार मातहत रहेको यो सडकको मुद्दा सर्वाेच्च अदालतमा मुद्दा चलिरहेकाले त्यो किनारा नलाग्दासम्म अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।
हस्तान्तरण नहुँदै भत्किएपछि
घोराही होलेरी शहीद मार्ग आयोजनाका प्रमुख पवन भट्टराईका अनुसार निर्माण कम्पनीबाट हस्तान्तरण नहुँदै सडक भत्किएपछि आयोजनाले लिएको थिएन । उनले सडक भत्किएपछि निर्माण व्यवसायबाट (डीएलपी) त्यो समयभित्र त्रुटि सच्चाउने काममा नियमित मर्मतनहुँदा सडक झन् बिग्रेको बताए । उनका अनुसार नियमित मर्मतको लागि डीएलपीको अवधि ४ पटक गरेर २ वर्षसम्म थपिएको थियो । तर, सम्झौताअनुसार २ वर्ष भन्दा बढी समय थप्न नमिल्ने कारणले २०७८ मंसिर ६ गते उक्त सम्झौता रद्द गरेको उनको भनाई छ ।
प्रतिक्रिया