प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा किन्न सम्भव नभएको बताउनु भएको छ । पालिका चुनावकाे तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभनलगायतका गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो ।
आज बुधवार ललितपुरको गोदावरीमा रहेकाे सनराइज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनति युवा र सात करोड रुपैयाँ दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनी प्रश्न गरेका थिए । त्यही प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘राजनीति कसैको पनि ठेक्कापट्टाको विषय होइन । यो सबैका लागि खुला छ । सबैले यसमा भाग लिन पाउँछन् । नेकपा एमालेले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरूलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होइन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न सम्भव छैन ।’
अध्यक्ष ओलीले फरक प्रसङ्गमा प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग बिजुली खरिद गर्नेहरूको फोटोलाई लिएर भोट माग्न हिँड्ने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गर्नुभयो । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोस्ट गर्नुभएकाे थियाे तर त्यसकाे चाैतर्फी आलाेचना भएपछि घिसिङकाे फाेटाे हटाउनु भएको थियो ।
अध्यक्ष ओलीले देशको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा युवाहरूले आयात प्रतिस्थापन हुने गरी कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरूको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया