अर्थ-वाणिज्य

गुल्मीमा गठबन्धन : केन्द्रले जोड्दै स्थानीयतहमा तोड्दै




गुल्मी १० बैशाख ।गुल्मीमा नेकपा माओवादी केन्द्रको नेतृत्वले जनाएको सहमतिको विरोधमा माओवादी केन्द्रकै कार्यकर्ता उत्रिएका छन् । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको उम्मेदवारी भागबण्डामा पार्टीको जिल्लास्तरीय नेतृत्वले जनाएको सहमतिको विरोधमा स्थानीय तहका कार्यकर्ता उत्रिएका हुन् । जिल्लास्तरीय संयन्त्रको प्रवक्ता तोकिएका माओवादी केन्द्रका नेता बुद्धि जिसीका अनुसार जिल्लाका १२ वटै पालिकामा गठबन्धन गर्ने गरी पद बाँडफाँटबारे करिबकरिब टुङ्गो लागिसकेको छ ।इस्मा र धुर्कोट गाउँपालिकाका माओवादी कार्यकर्ताहरु भने संयन्त्रको निर्णयविरुद्ध विद्रोहको तयारीमा छन् । नेपाली काँग्रेसले इस्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद लिएपछि माओवादी केन्द्रका स्थानीय कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।
६ वटा वडा रहेको इस्मामा एउटा वडासमेत आफ्नो पार्टीलाई नदिएपछि विद्रोह गर्नु परेको माओवादी केन्द्र इस्मा गाउँ कमिटी अध्यक्ष बसन्त सुनारले बताए ।‘काँग्रेसले त इस्मामा माओवादी नै छैनन् जस्तो गरेर निकै हेप्यो,’ उनले भने, ‘हामी इस्मामा माओवादी छौं भनेर देखाउन अस्तित्वको लडाइँ लड्दै छौं र एक्लै चुुनावमा उठ्दै छौं ।’जिल्लास्तरीय संयन्त्रको बैठकले माओवादी केन्द्रलाई केही वडा सदस्य दिनेगरी भागबण्डा टुङ्गो लगाएको हो । सो पालिकाको वडा नम्वर २ मा माओवादी केन्द्रको करिव तीन सय मत रहेको सो पार्टीको दाबी छ ।
अध्यक्ष सुनारले भने, ‘उपप्रमुख नदिए पनि वडा नम्बर २ हामीलाई दिनुहोस् भनेका थियौं, त्यहाँ पनि सदस्यभन्दा माथि नदिने भनेपछि सो वडासहित हाम्रो उपस्थिति रहेको वडामा पनि हामीले हाम्रो एकल उम्मेदवार खडा गर्दछौं र हाम्रा समर्थकहरुको रक्षा गर्दछौं ।’माओवादी केन्द्रका अर्का स्थानीय नेता दानबहादुर नेपालीले पनि गठबन्धन संयन्त्रको निर्णय अस्वीकार्य रहेको बताए ।माओवादीको २ नम्बर वडा कमिटी अध्यक्ष राहुल विकले आफू वडाअध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेका छन् ।इस्मामा माओवादी केन्द्र एक्लै चुनाव लडेमा त्यसको फाइदा एमालेलाई हुने देखिन्छ ।
उता धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रलाई अध्यक्ष पद दिने सहमति भए पनि काँग्रेसले छुट्टै उम्मेदवारी दिने घोषणा गरेपछि माओवादी केन्द्रले पनि एक्लै लड्ने उद्घोष गरेको छ ।सुरुमा धुर्कोट, रुरुक्षेत्र, चन्द्रकोट र मालिकासहित चार वटा पालिकाको प्रमुख पद माओवादी केन्द्रलाई दिने सैद्धान्तिक सहमति भएको गठबन्धनका एक नेताले बताए । तर काँग्रेसबाट महेन्द्र भण्डारीले एकल उम्मेदवारी घोषणा गरेपछि त्यो सहमति तोडिएको बताइन्छ ।अन्य तीन पालिकामध्ये मालिकामा माओवादी केन्द्रका नेता देवीराम अर्याल प्रमुख र काँग्रेस नेता उपेन्द्र अर्याल उपप्रमुुख पदमा उम्मेदवार बन्ने भएका छन्।

रुरुक्षेत्रमा यदु ज्ञवाली र चन्द्रकोट गाउँपालिकामा युवराज केसी माओवादी केन्द्रबाट गठबन्धनका साझा उमेदावार हुन् । मुसिकोट नगरपालिकामा उपप्रमुख सहित केही वडा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।स्रोतका अनुसार मुसिकोट नगरपालिकाको उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ । एकीकृत समाजवादीले मालिकामा समेत उपप्रमुख र करिव एक दर्जन वडामा नेतृत्व पाउने भएको जनाइएको छ । माओवादी केन्द्रका संयोजक जिसी भने जिल्लामा मिल्न नसकेका विषयहरु प्रदेश कमिटीमा पठाइएकाले उताबाट आउने निर्णय कुर्नुपर्ने बताउँछन् ।नेपाली काँग्रेस गुल्मीका सचिव तथा इस्मा गाउँपालिकामा प्रमुख पदका उम्मेदवार भगतसिंह खड्काले भने गठबन्धन भित्रका दलमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर प्रतिगमन विरुद्धको लडाइँमा एकजुट भएर लाग्नुपर्ने बताउँछन् ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६