नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवार दर्ता गराउनुभएकी सिर्जना सिंहले काठमाण्डौलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।
नेपाल महिला सङ्घ काठमाण्डौ जिल्ला कार्यसमितिले आज मङ्गलवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाण्डौ महानगरलाई सुव्यवस्थित गर्नका लागि आफूले मेयरमा उम्मेदवारी दिएको बताउनुभयो ।
‘कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ‘, उहाँले भन्नुभयो । काठमाण्डौ महानगरभित्र आफू कसैको आमा, कसैको दिदी, कसैको भाउजु, कसैको बुहारी र कसैको सासु भएर काम गरेर देखाउने उहाँको भनाइ छ । नेत्री सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासु मङ्गलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिलाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गर्नुभयो । ‘मैले राजनीतिमा पद लिइन, राजनीति गर्न छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाण्डौवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको मुटु काठमाण्डौमा महिलाले मेयरको उम्मेदवारी पाउनु खुसीको कुरा भएको बताउनुभयो । कांग्रेसले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उहाँलाई जिताउनका लागि लाग्न काठामाण्डौवासीलाई उहाँले आग्रहसमेत गर्नुभयो ।
प्रतिक्रिया