नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनकाे युद्धका कारण महँगी बढ्न सक्ने बताउनुभएकाे छ । आज बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताउनुभएकाे हाे ।
गभर्नर अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको पनि बताउनुभयाे । राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल गरिरहेकाे उहाँकाे भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताउनुभयो । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने सङ्केत देखिएको उहाँले बताउनुभयो ।
गभर्नर अधिकारीले भन्नुभयो, ‘विदेशी विनिमय सञ्चिति घटेर सात महिनाभन्दा कम समयका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको छ । कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महँगी बढ्ने देखिएको छ । अधिक कर्जा प्रवाह भएको र त्यसकाे धेरैजसाे हिस्सा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सोधानान्तर स्थिति घाटामा रहेको छ । यो केही समय कायम रहने देखिन्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति स्थिर रहेको छ । आउँदा दिनमा थप काम गर्न राष्ट्र बैंक प्रतिबद्ध छ ।’
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताउनुभयो । उहाँले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताउनुभएको हो । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको उहाँकाे भनाइ छ ।
अर्थतन्त्र बाह्य क्षेत्रको कारण दबाबमा परेको मिश्रले बताउनुभयो । उहाँले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उल्लेख गर्नुभयाे । पछिल्लो समय कोरोना सङ्क्रमणको दर कम हुँदै गएकोले अब आर्थिक क्षेत्र चलायमान हुने उहाँकाे विश्वास छ ।
कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया