काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताएका छन्। बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै अध्यक्ष ओलीले स्वागत गर्ने बताएका हुन्।
‘एमालेले जारी गरेको घोषणा पत्र र प्रतिबद्धताहरुको विरुद्धमा बहसमा उत्रिन चाहन्छ भने हामी स्वागत गर्न चाहन्छौं,’ उनले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने।
तर ट्युसन क्लास दिन आउने गगनलाई नयाँ र सिकारु नेता भिडाउने जवाफ ओलीले दिए। ‘कोही ट्युसन क्लासहरु चलाउन तयार छन् भने हाम्रो लागि ठूलो कुरा होइन,’ उनले भने, ‘भर्खर भर्खर पास गरेका थुप्रै जना छन्। हामी भिडादिउँला। हामी बहस गराइदिँउला।’
उनले नेपाली कांग्रेसको विचार शून्य रहेको र पुग्नु कहीँ नभएको बताए। ‘वैचारिकरुपले कुहिराका काग भएको छ। त्यसको उद्देश्य हुन्छ पेट भर्ने। नेपाली कांग्रेस त्यतिमा झरेको देख्दा टिठ लाग्छ,’ उनले भने।
प्रतिक्रिया