मकवानपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश विकास गर्ने कुनै नीति नभएकाे बताउनुभएकाे छ । आज आइतवार पार्टीले हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे ।
कांग्रेसले आफ्नो घोषणापत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम आठ ठाउँमा र प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै ओलीले भन्नुभयाे, ‘कांग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ । कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई गाली गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गाली गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौँ ।’
कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले फेरि पनि चुनाव भाँड्ने षड्यन्त्र गरिसकेको आराेप लगाउनुभयाे । ‘गठबन्धनले चुनाव हुन नदिएर अहिले दुई महिना पछाडि धकेलिएको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरि चुनाव हार्ने डरले षड्यन्त्र सुरु भएको छ’, उहाँले भन्नुभयाे ।
गठबन्धनको सरकारले चुनावी आचारसंहिता लागू भएपछि पनि भोटका लागि अरबाैँकाे स्वास्थ्य सामग्री किनेको अध्यक्ष ओलीकाे आरोप छ । उहाँले व्यङ्ग्य गर्दै भन्नुभयाे, ‘गठबन्धनको सरकारले पनि काम गरेको छ नि । जता हेरे पनि मन्त्री, झन्डा र मन्त्रालय छन्, कत्ति विकासै विकास छ हेर्नुस् त । ’
आमसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले हेटौँडाको राजमार्ग विस्तारको सवालमा पनि प्रसङ्ग उठाउनुभयाे । हेटौँडामा चार दशकदेखि विवादमा रहेको राजमार्ग विस्तारको बारेमा एमालेसँग स्पष्ट धारण भएको र हेटौँडावासीलाई एमालेले न्याय गर्ने उहाँले बताउनुभयाे । विकास र सुशासनका लागि एमाले सधैँ नागरिककाे पक्षमा रहेको उहाँको दाबी थियो ।
प्रतिक्रिया