बुधबार दिउसो २ बजेतिर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ हरिहरपुरमा एउटा अनौठो दृश्य देखियो । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारका क्रममा वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार बनेका गठबन्धनका चन्द्रकान्त न्यौपाने र नेपाली काँग्रेसका दिनेश क्षेत्रीबीच जम्काभेट भयो ।
क्षेत्री तामझामसहित अबिरसहित मतदाताको घरदैलेमा थिए भने न्यौपाने साधारण तवरबाट प्रचारमा थिए । सोही क्रममा मतदातालाई भेटी क्षेत्री एक घरबाट बाटोमा निस्किदै थिए, प्रतिद्वन्दी न्यौपानेसंग जम्का भेट । त्यसपछि प्रचारमा होमिएका काँग्रेस कार्यकर्ता पनि मुस्कुराए । न्यौपानेले हाँस्दै क्षेत्रीसंग फोटो खिच्न प्रस्ताव राखे । दुवै संगै उभिएर फोटो खिचे । यो दृश्यले त्यहाँ रहेका सबैमा खुसीको वातावरण सृजना गर्यो । त्यहाँ उपस्थिति सबैले यसलाई अनौठो दृश्य भने । किनकि तीव्र प्रतिस्पर्धामा रहेका दुई प्रतिद्वन्दी एक ठाउँ थिए ।
सोही क्रममा न्यौपानेले फोटो मात्र खिचेनन् क्षेत्रीलाई उचालेर अंगालोमा चढाए । यो बेला दुवैजना निकै खुसी देखिन्थे । दुवै मुस्कुराए । धेरैले तस्विर पनि खिचे । त्यसपछि दुवैले शुभकामना आदानप्रदान गरी आआफ्नो बाटो लागे । क्षेत्रीलाई अंकमाल गरेपछि न्यौपानेले भने ‘हामीमा कुनै अस्वस्थ प्रतिस्पर्धा छैन । संगै पढेलेखेको हो । दुवै असल मित्र हौँ । जसले जिते पनि वडाकै जित हुने छ । योग्य र सक्षम उम्मेदवार चयन गर्न मतदातालाई आग्रह गर्दछु।’ उसो त अघिल्लो दिन पनि एमालेबाट आफ्नै पदमा प्रतिद्वन्दी बनेका छवि रेश्वीसंग अंकमाल गरेर न्यौपानेले चर्चा पाएका थिए ।
न्यौपानेको यो आदर्श र मित्रतापूर्ण व्यक्तित्वलाई सबैले राम्रो मानेका छन् । वडामा उठेका उम्मेदवारमध्ये सबैभन्दा पढेलेखेका, बौद्धिक, प्रखर न्यौपाने रहेको भन्दै धेरैले भोट दिने वचनवद्धता पनि जाहेर गरेको सुन्न पाइन्छ ।
प्रतिक्रिया