कपिलवस्तुको बाणगंगाकै पुरानो बजार गजेहडाको विकास हुन नसकेकामा मतदाताले आक्रोश पोखेका छन् । वडा नम्बर ४ को वडा अध्यक्षमा चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका चन्द्रकान्त न्यौँपाने, वडा सदस्यहरु नुर बहादुर राना, विमला श्रेष्ठ, रामचन्द्र खनाल लगायतको टोली घरदैलोको क्रममा गजेहडा बजार पुग्न नपाउँदै जनता जनप्रतिनिधिमाथि खनिएका हुन् ।
०७४ सालमा निर्वाचित भएका नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्र अर्याल र वडाका अवडा अध्यक्ष गणेश बहादुर क्षेत्री, लगायतमाथि सर्वसाधारण खनिएका हुन् । स्थानीय शिला गिरी, निर्मला गिरी, फुलमाया सेन, विना शाही लगायतले आक्रोश पोख्दै वडा अध्यक्षका उम्मेदवार न्यौपानेसंग भन्नुभयो ‘गजेहडा नगरकै पुरानो बजार हो । उपमेयरको घर यहीँ छ । वडा कार्यालय यहीँ छ । अरु जनप्रतिनिधि पनि यही बाटो सरर हिँड्छन् । तर यहाँको धुलो उनीहरुले देख्दैनन् । अब्यवस्थित नाली देख्दैनन् ।’
शिला गिरीले थप्नु भयो ‘उपमेयर बनेका चक्र अर्याललाई अब मेयरमा किन भोट दिनु ? उहाँले गजेहडाको विकासको लागि के गर्नुभयो ? यहाँको बाटोको स्थिति यस्तो छ । अस्ति बाढी आएर डुबायो । अब बर्खामा डुवाउने निश्चित छ । बजार अस्तव्यस्त छ । उहाँहरुले के हेरिरहनु भएको छ ? यो त बत्तिमुनि अँध्यारो भयो नि ।’
गजेहडाकै विना शाहीले उस्तै खिन्नता प्रकट गर्नुभएको छ । मेयर मंगल थारु दिनहुँ त्यहीबाट हिँडे पनि गजेहडा बजार भित्रको अवस्था बुझ्न कहिल्यै पनि नआएको बताउनु भयो । ‘ओदारी बजार पनि विकास भइसक्यो । चार नम्बर, पिपरा, बोडगाउँ विकास भए तर पुरानो भएर गजेहडा पछाडी पर्यो । यसमा दोषी यिनै जनप्रतिनिधि छन् । उहाँहरुलाई भोट माग्ने नैतिक अधिकार छैन । अब भोट दिन्नौँ । ब्यक्ति हेरेर भोट दिने हो, उहाँले थप्नुभयो । ’
अरु जनताले पनि पहिलेका जनप्रतिनिधिले केही पनि काम गर्न नसकेको बताए । चुनाव जित्न अझै पनि तामझाम गरेर जनतालाई भेँडो बनाउन काँग्रेस र एमाले लागि परेको भन्दै त्यस्तो सपना नदेख्न उनीहरुले चेतावनी दिएका छन् । स्थानीयले कोरोना खोपमासमेत ती जनप्रतिनिधिले विभेद गरेको सुनाए ।
सबैका गुनासा सुनेपछि न्यौपानेले यी ठुला पार्टीबाट गजेहडाको विकास सम्भव नभएकाले विकल्प खोज्न आग्रह गर्नुभयो । गजेहडाको विकासको लागि विज्ञहरुको टिम बनाएर एउटा दिर्घकालीन योजना बनाउन जरुरी रहेको भन्दै अब आफूहरुलाई विश्वास गर्न उहाँको आग्रह छ । आफूहरुले जिते पहिले गजेहडा बजारको विकासलाई प्राथमिकता दिने न्यौपानेले बताउनु भयो । गठबन्धनको टोलीका ५ जना उम्मेदवार मात्र चुनावी प्रचार प्रसारमा छन् । अरु दलले भड्किलो र खर्चिलो प्रचार गरिरहेको बेला गठबन्धनको यो शैलीलाई मतदाताले प्रसंसा गरेका छन् भने यसको नेपालभर चर्चा हुन थालेको छ । उनीहरु एउटा अटोमा प्रचार जिंगल बजाउँदै दिनभर पैदल घरदैलेमा पुग्ने गरेका छन् ।
प्रतिक्रिया