राजनीति

प्रचण्ड यति सजिलो मानिस हुनुहुन्छ,तपाईंहरू बुझ्नु नै हुन्न: देउवा



कपिलवस्तु, २३ वैशाख ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्ध स्थानीय चुनावले झन् ‘घनिष्ठ’ बनाएको छ।बिहीबार चितवनमा आयोजित सभामा देउवाले प्रचण्ड सजिलो मानिस भएकोसमेत बताएका थिए।प्रचण्ड यति सजिलो मानिस हुनुहुन्छ, तपाईंहरूले बुझ्नु नै हुन्न,’ प्रचण्डको प्रशंसामा मञ्चबाटै देउवाले यति भन्न भ्याएका थिए।

प्रचण्डले पनि कांग्रेसलगायत दलसँग लामो सहकार्य रहने बताएका थिए।रूखवालाहरूले हँसिया हतौडामा भोट हाल्न असजिलो मान्नुभएन भने यो सहकार्य १५/२० वर्षसम्म जान्छ,’ प्रचण्डले भनेका थिए।नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमविरूद्ध उभिन देउवा र प्रचण्ड नजिकिएका थिए। त्यो बेलादेखिको सहकार्य उनीहरूले अहिलेसम्म जारी नै राखेका छन्।

एकै मञ्चबाट भाषण गर्नेदेखि एकअर्कालाई प्रशंसा गर्नसम्म उनीहरू पछि पर्दैनन्। केन्द्रमा देउवा र प्रचण्डबीच सहकार्य, सम्बन्ध सुमधुर र गठबन्धन कसिलो बन्दै जाँदा केही जिल्लाहरूमा भने कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट हुने गरेको छ।पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने भने पनि ७५३ मध्ये मुश्किलले दुई सय पालिकामा गठबन्धन भएका छन्। अन्यत्र दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्।तालमेल सम्भव नभएका क्षेत्रमा सत्तागठबन्धनकै दलबीच प्रतिस्पर्धा भएको छ। चुनावी तालमेल नभएका क्षेत्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप पनि हुने गरेको छ।

सिन्धुपाल्चोकमा बिहीबार बेलुकी घरदैलो गरी फर्केका कांग्रेस कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको छ। बलेफी गाउँपालिका वडा नम्बर ५ बिन्जेल आँपबोटमा माओवादी कार्यकर्ता कांग्रेस कार्यकर्तामाथि जाइलागेका थिए।बलेफी वडा नम्बर ५ को वडा सदस्यमा माओवादीबाट उम्मेदवार रहेका रामबहादुर तामाङको नेतृत्वमा कुटपिट भएको कांग्रेसको आरोप छ। माओवादी कार्यकर्ताले कुटपिट गर्दा कांग्रेसका वडा प्रतिनिधि कुमार तामाङसहित चार जना घाइते छन्। तामाङको करङ भाँचिएको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।माओवादीको कुटपिटबाट घाइते सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ता।बोतल, ढुंगा र लाठी प्रहार गर्दा कांग्रेस कार्यकर्ताका हात, टाउको र ढाडमा गहिरो चोटहरू लागेको छ। माओवादीका वडा सदस्य उम्मेदवार रामबहादुरले ‘सल्लाह गर्नुछ’ भन्दै बोलाएर कुटपिट गर्न सुरू गरेको दाबी कांग्रेसको छ।
दुबै पक्षलाई बोलाएर घटनाबारे अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

रूकुम पश्चिममा पनि कांग्रेस र माओवादीबीच झडप भयो।वाइसिएल कार्यकर्ताले तरूण दलका कार्यकर्तामाथि कुटपिट र ढुंगामुढा गरेका थिए। वाइसिएलले लखेटेपछि तरूण दलका कार्यकर्ताहरू त्रिवेणीको नुवाकोटस्थित चौकीभित्र पुगेका थिए।प्रहरीले कांग्रेस कार्यकर्तालाई सुरक्षा दिएको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका थिए। वाइसिएल कार्यकर्ताले कांग्रेसका तर्फबाट त्रिवेणी गाउँपालिका उम्मेदवार रहेका अमरसिं खड्काले चढ्ने रा१च १२६२ नम्बरको जिप तोडफोड गरेपछि विवादले उग्र रूप लिएको थियो।माओवादी कार्यकर्ताले तोडफोड गरेको कांग्रेसका उम्मेदवार सवार जिप।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले वाइसिएल र तरूण दल कार्यकर्ताबीच झडप भएको र चौकीसमेत तोडफोड भएको बताए।वाइसिलको कुटपिटबाट तरूण दलका आठ जना घाइते भएका थिए। छ जनाको जिल्ला अस्पताल सल्ले र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो।चित्र खड्का, वीरबहादुर वली, दुर्गा वली, झुपलाल वली, नवीन खड्कालगायत तरूण दलका कार्यकर्ता घाइते भएको रूकुमपश्चिम कांग्रेसले जनाएको छ।

माओवादीले भने आफ्ना जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड गरेकाले ढुंगा हानाहान भएको बताएको छ। त्रिवेणीमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन्।साथै रोल्पामा माओवादी कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई नै घाइते बनाएका छन्।माडी गाउँपालिका वडा नम्बर ३ तालावाङमा बुधबार राति माओवादीले कांग्रेस उम्मेदवारमाथि आक्रमण गरेका थिए। वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि माओवादी कार्यकर्ताले रड प्रहार गरेका थिए।लावाङ बजारमा भएको चुनावी सभा गरेर फर्किँदै गरेका कांग्रेस नेता/कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको थियो।कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए।उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उनले भने।घाइते डाँगीलाई उपचारका लागि दाङ लगिएको थियो। माओवादीले भने आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको दाबी गरेको छ।

माओवादीका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरिएको बताए।
जिल्लाहरूमा पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण हुने क्रम बढेपछि आज कांग्रेसले सानेपामा सत्तागठबन्धनभित्र रहेका दलका प्रतिनिधिहरूसँग छलफलसमेत गरेको छ।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्लाहरूमा पार्टीका कार्यकर्तामाथि कुटपिट हुने गरेका घटना बढेपछि आज पार्टी केन्द्रीय कार्यालयमा बैठक गरेर छलफल गरिएको बताए।जिल्लाहरूमा कांग्रेसका साथीहरूमाथि कुटपिटका घटना भएका विवरण आएपछि हामीले सत्तागठबन्धनभित्र रहेका सबै दलका सचिवालयमा रहेका प्रतिनिधिलाई सानेपा बोलाएर आज बिहान बैठक गरियो,’ पौडेलले भने, ‘घटना नदोहोरियोस् भनेका छौं। हाम्रा कार्यकर्ता नकुट्नू भनेका छौं। अब घटना घट्दै जान्छन्,’ उनले भने।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६