समाचार

कर्णालीका गाउँहरुमा खानेपानीको चरम अभाव



सुर्खेत, २६ वैशाख । — जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुको विशालफाँट । कुदुमा झन्डै १ हजार घरधुरीको बसोबास छ । गाउँमा खानेपानी ल्याउनेलगायत एजेन्डा अघि सारेरै राष्ट्रिय पञ्चायत सदस्य जितेका तेजविक्रम शाह पछि सहायक मन्त्रीसम्म बने । उनीपछि उनका छोरा गोविन्दविक्रम शाह जिल्ला विकास समितिको सभापति र प्रतिनिधिसभा सदस्य भए । उनले पनि कुदुवासीलाई पटकपटक खानेपानीकै आश्वासन दिए तर कुदुवासीको ‘खानेपानी सपना’ अझै पूरा भएको छैन ।
‘हाम्रा लागि खानेपानी योजना चुनावको नारा मात्र भयो,’ स्थानीय अम्बिकाप्रसाद आचार्यले भने, ‘पानीका लागि झन्डै ५० वर्षदेखि दुःख भोगिरहेका छौं, हाम्रा बाबुबाजेलाई पनि यही पीर थियो । यस्तै अवस्था रहे हाम्रा छोरानातिले पनि पानीकै अभाव भोग्नुपर्ने देखियो ।’ उनका अनुसार नदीबाट गाउँमा पानी तान्न धेरै बजेट लाग्ने भएकाले खानेपानी योजना बन्न नसकेको हो ।
भेरी नगरपालिकाले २ वर्षअघि ४४ लाख रुपैयाँ खर्चेर कुदु स्वास्थ्यचौकी परिसरमा डिप बोरिङमार्फत पानी निकालेको छ तर विद्युत् महसुलका नाममा एक गाग्री पानीको ५ रुपैयाँ तिनुपर्ने बाध्यता रहेको स्थानीय सावित्रा रावतले बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरू समय सधैं पिरलो हुन्छ, पानी पनि अड्कलेर खानुपर्ने बाध्यता छ ।’ खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् भने पशुपालन गर्न पनि समस्या छ ।
भेरी नदीबाहेक गाउँ आसपास पानीको मुहान छैन । भेरी नदीको धमिलो पानीभन्दा डिप बोरिङको पानी सफा हुने भए पनि रातिको १२ बजेसम्म लाइन बसेर पानी ल्याउनुपर्ने बाध्यता भएको स्थानीय अगुवा ध्रुवप्रसाद शर्माले बताए । उनका अनुसार कुदुमा झन्डै ४ हजार मतदाता छन् ।

नगरपालिकाको पहिलो कार्यकाल चलाएका एमालेका चन्द्रप्रकाश घर्ती फेरि पनि नगरपालिकाको उम्मेदवार छन् । उनले नगर प्रमुख पदमा आफू दोहोरिनुपर्ने ४३ कारणमध्ये कुदु खानेपानी पनि एक भएको दाबी गरे । ‘केही योजना पूरा भएनन्,’ उनले भने, ‘पहिलो कार्यकालमा त सकिएन, अब जसरी पनि कुदुको खानेपानी समस्या समाधान गर्छु ।’ उनका अनुसार कुदु, छिप्रेना, जगतीपुर, पुन्मा, रिम्ना, कालेगाउँ, रावतगाउँ, बोहरागाउँलगायतमा खानेपानीको चरम अभाव छ । उनी मात्र होइन, गठबन्धनका प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका गगनबहादुर खड्का र एकीकृत समाजवादीका कमानबहादुर खड्काको प्रतिबद्धतापत्रमा पनि कुदुको खानेपानीकै एजेन्डा छ । अहिले प्रचारमा गएका बेला कुदुका मतदाताले खानेपानी र व्यवस्थित सडकका कुरा गर्ने गरेको माओवादीका उम्मेदवार खड्काले बताए । ‘मेरै बस्ती रिम्नाका बासिन्दा बाह्रै महिना भेरी नदीको पानी पिउन बाध्य छन्,’ उनले भने, ‘मुहान अभावकै कारण हामी सबै शुद्ध खानेपानीको सुविधाबाट वञ्चित छौं, अब यो समस्या हल हुन्छ ।’

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६