बुटवल १३ जेठ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको मुख्य सडक मर्मतको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा सडक मर्मत तथा कालोपत्रे हुने भएको छ । नगरमा निर्वाचित भएर कार्यभार सम्हालेको दोस्रो दिनमा नै सडक र सरोकारवाला निकायकाबीचमा बैठक बसेर सडक निर्माणलाई तीव्रता दिने निर्णय भएको थियो ।नगरकै निर्णयका आधारमा सर्वपक्षीय छलफलले बाटो निर्माणमा सहमति जुटेपछि शुक्रबार बिहानबाट बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्मको सडक तत्काल मर्मत, कालोपत्रे, ढलान गर्न सुरु भएको नगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।
‘‘हाम्रो पहलमा सबैको सहयोगमा आवश्यकताका आधारमा सडक मर्मत, कालोपत्रे, ढलानको काम आरम्भ भएको छ, चौराहामा रहेको प्रथम सहिद लखन थापाको शालिक वरिपरिको भत्किएको भागमा ढलान, त्यस्तै पुष्पलाल पार्क (अस्पताललाइनमा) पनि ढलान, नाली निर्माण हुनेछ, बुटवलका सबै खाल्डाखुल्डी पुरिनेछ भने भुड्कीचोकदेखि ट्राफिकचोक भूपीशेरचन चोकसम्मको सडकलाइ कालोपत्रे गर्ने प्रकृया अगाडि बढाएका छौं ।’’ उहाँले भन्नुभयो । तत्काल बुटवलका नागरिकलाइ धुलो, धुवा र फोहोरमैलाको प्रदुषणबाट टाढा राख्ने योजना रहेको नगरप्रमुख पाण्डेयको भनाइ छ ।
१३ जेष्ठ २०७९, शुक्रबार








प्रतिक्रिया