जेठ १५,
काठमान्डौ । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान अझै फेला पर्न सकेको छैन । सो विमान मुस्ताङकै थासाङ गाउँपालिका आसपास बेपत्ता भएको बताइएको छ । थासाङ–५ का वडा अध्यक्ष रुपेश तुलाचनले विमान आएको आवाज आफूहरुले सुनेको तर केहीबेर मै सो विमान हराएको खबर पाएको बताए ।
प्रेसपार्टी सँग कुरा गर्दै उनले भने, ‘बिहान हवाईजहाज आएको आवाज सुनेको हो । मैले बुढीसँग कुरा पनि गरेँ– यस्तो मौसममा पनि प्लेन आए छ है भनेर । पछि त हरायो भनेर खबर आयो ।’ प्रहरीसँग समन्वय गर्दा हाम्रै ठाउँ (लेते, कुञ्जो) तिर सो विमान हरायो भनेर हल्ला आए पनि अहिलेसम्म कहाँ हो, के भयो भन्नेबारे टुंगो नलागेको उनले बताए ।
‘वारीपारीको ठाउँमा बस्ने गोठालाहरूसँग फोन गरेर सोध्दा पनि त्यस्तो केही थाहा नभएको भन्छन्,’ उनले भने, ‘अहिले अत्यन्तै बाक्लो कुहिरो लागेको छ, प्रतिकुल मौसमका कारण केही मिटर टाढासम्म पनि देख्न सकिने अवस्था छैन ।’
यस्तो अवस्थामा कसरी विमान आयो भनेर आफूहरु चकित भएको भन्दै उनले खोजी कार्य गर्नका लागि पनि अहिले मौसम प्रतिकुल रहेको बताए ।








प्रतिक्रिया