कपिलवस्तु, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तुले गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन पार्टीका तर्फवाट कृष्णनगरमा १ जना वडा सदस्य वाहेक कहिकतै विजयी हुन सकेन । तर मंगलवार सम्पन्न जिल्ला सचिवालय बैठकले नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । चुनावको समिक्षाका लागि बाणगंगामा मंगलबार बसेको जिल्ला सचिवालय बैठकले स्थानीय चुनावमा परिणाम निकाल्ने गरि नतिजा नआए पनि जनताको अपार माया प्राप्त भएको निष्कर्ष निकालेको छ ।
पार्टी गठनको ८ महिनामै चुनावमा होमिनुपर्ने बाध्यता, जिल्लामा सुदृढ भइनसकेको संगठनात्मक संरचना, गठबन्धनका नाममा अल्झिनु परेको अवस्थाका बीच पनि अधिकांश पालिकामा उम्मेद्वार उठाउनु र कतिपय स्थानमा राम्रो मत ल्याउनुलाई एकीकृत समाजवादी कपिलवस्तुले चुनावी नतिजालाई सन्तोषजनक मानेको हो । जिल्लाभर कलम चुनाव चिह्नको प्रचार हुनुलाई पनि समाजवादीले प्रगतिको एक कदम मानेको छ ।
जिल्लामा एकीकृत समाजवादीले एउटा वडा सदस्य जितेको छ । कृष्णनगर नगरपालिका वडा नं. १० मा समाजवादीका मुतर्जा मुसलमानले वडा सदस्य जितेका छन् । १० पालिका मध्ये यशोधरा गाउँपालिका र महाराजगञ्ज नगरपालिका बाहेक सबै पालिकामा समाजवादीले उम्मेद्वार खडा गरेको थियो । मायादेवी गाउँपालिकाको अध्यक्षमा समाजवादीका फैजल खान ३५ सय ४ मत ल्याउँदै तेस्रो स्थानमा आउन सफल भएका थिए ।
शिवराज नगरपालिकाको नगर प्रमुखमा समाजवादीका क्षेत्र बहादुर खत्रीले १६ सय ९७ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रसंग तालमेल भएपनि गठबन्धनले सोचे जस्तो मत परिणाम ल्याउन नसकेको समाजवादीको निष्कर्ष छ । बैठकले गठबन्धनका नाममा चुनावी तयारीलाई गम्भीर धक्का पुगेको महसुस गरेको छ । आसन्न प्रदेश र संघको चुनावका लागि तयारीमा लाग्ने गरि बैठकले योजना बनाएको छ ।
यसैबीच एकीकृत समाजवादी कपिलवस्तुको उप–सचिवमा नेता सरोजकुमार पौडेललाई जिम्मेवारी दिइएको छ । जिल्लाको सचिवालय सदस्य रहेका पौडेललाई मंगलबारको बैठकले उप–सचिवको थप जिम्मेवारी दिएको हो ।समाजवादीको विधानमा दुई जना उप सचिव रहने व्यवस्था बमोजिम पौडेललाई जिम्मेवारी दिइएको पार्टीका जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै बैठकले शुद्धोधन गाउँपालिकाका गोपाल तेलीलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
१७ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया