प्रदेश

रूपन्देहीमा घाइते फेला परेको चितुवाको मृत्यु




१९ जेष्ठ
बुटवल । रूपन्देहीको सैनामैना झिमझिमियामा घाइते अवस्थामा फेला परेको चितुवाको बिहीबार मृत्यु भएको छ।
केही दिनयता सैनामैनाको सालझण्डी, रामापुर लगायतका क्षेत्रमा डुलिरहेको चितुवा बिहीबार सख्त घाइते अवस्थामा फेला परेको थियो। इलाका प्रहरी कार्यालय सैनामैनाका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार उक्त चितुवा बिहीबार बिहान सैनामैना १० झिमझिमियामा फेला परेको थियो।
मौवाको रूखमुनि पल्टिएको अवस्थामा चितुवा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा चितुवाको घाँटीमा फलामको तार बेरिएको र तारले काटिएर घाँटीमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो।
प्रहरी टोली पुगेपछि उक्त चितुवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवामा पठाइएको कञ्चन सव डिभिजन वन कार्यालयका प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिए। यसअघि बिहान घाइते अवस्थामा फेला परेको चितुवालाई नजिकै गएर हेर्न खोज्दा स्थानीय सैनामैना १० बेतहनीका ५५ वर्षीय रामकृष्ण थारूलाई आक्रमण गरी घाइते बनाएको थियो।
गाउँमै आएर पल्टिएको चितुवालाई नजिकै गएर हेर्न खोज्दा चिथोरेर थारूलाई सामान्य घाइते बनाएको प्रहरी निरीक्षक मरासिनीले बताए। पछिल्लो केही दिनयता सैनामैना र कञ्चन सामुदायिक तथा राष्ट्रिय वन आसपासको क्षेत्रमा चितुवा डुलिरहेको भेटिएपछि प्रहरीले बालबालिकाहरूलाई एक्लै हिँड्डुल नगर्न र अन्य व्यक्तिहरू समेत साँझ बिहानको समयमा हिँड्डुल गर्दा सतर्क रहन सूचना जारी गर्दै आएको थियो।
सव डिभिजन वन कार्यलय कञ्चनका प्रमुख न्यौपानेका अनुसार उक्त चितुवा अन्दाजी १० देखि १२ वर्ष उमेरको हो। चितुवाको शरीरमा लागेको चोट र उसको अवस्थालाई हेर्दा जंगलमा कसैले राखेको पासोमा परी घाइते भएको हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६