काठमाडौं २५ जेठ । काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सवारी साधन स्थानीयको अवरोधपछि फोहोर नखसाली काठमाडौैं नै फिर्ता गरिएको छ ।काठमाडौं महानगरपालिकाका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठका अनुसार प्रहरीको उच्च सुरक्षाबीच लगिएको फोहोर बोकेको गाडी स्थानीय वासिन्दाको अवरोधपछि फिर्ता भएको हो ।केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीय वासिन्दाले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरिएको हो ।स्थानीय वासिन्दाले ढुंगा मुढा गर्दा केही प्रहरी घाइते भएका छन् । प्रहरीले सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले बताए । प्रहरीले तनाव भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाइ फायर गरेको स्थानीयबासीले बताएका छन् ।
स्थानीयबासी समीर ढुंगानाले भने ‘आज हामीले चर्को रुपमा विरोध गर्यौं । त्यसको बाबजुद पनि २ ट्रक फोहोर खसालिएको छ ।’ स्थानीय वासिन्दाले ढुंगामुढा गर्दा १२ वटा गाडीमा क्षति पुगेको छ । प्रहरीले बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेतीसहित ४ जनालाई पक्राउ गरेको छ ।
२५ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया